४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधन बिधेयक कुनै हालतमा पारित हुँदैन्ः भीम रावल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, २६ पुस । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुने बताउनुभएको छ ।

प्रेस चौतारी अछामद्धारा सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले संविधान संशोधनको बिरुद्धमा स्पष्ट एक तिहाई मत रहेको र संविधान संशोधन बिधेयक राष्ट्रघाति भएकोले कुनैपनि देशभक्त नेपालीले यसलाई पारित नगर्ने दाबी गर्नुभयो ।

प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभित्र प्रदेश सभामा पठाउनुपर्ने स्पष्ट संविधानमा उल्लेख भएको र त्यसो नभएमा स्वतः निष्क्रिय हुने भन्दै संविधान संशोधन संविधान र संसदीय मान्यता विपरित रहेको तथा संविधान विपरित गए आफ्नो पार्टीको बिरोध रहने उहाँको भनाई छ ।

पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहनु भएका नेता रावलले एमाले ३ वटै निकायको चुनावका लागि तयार रहेको भन्दै सरकाले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग गर्नुभयो । २०७४ माघ ७ गतेभित्र तीनओटै निकायका चुनाव नभए देशमा रिक्तता उत्पन्न हुने भन्दै अहिले सरकार चुनावको मिति घोषणा नगरि देशमा रिक्तता उत्पन्न गरी आफ्नो आयु बढाउन लागेको हो कि भन्ने शंका रहेको बताउनुभयो ।

अहिले संविधानको कार्यान्वयन गरी सबै जात जाती, भाषा, समुदायका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बेला भएको भन्दै एमाले उपाध्यक्ष रावलले संविधानमा सबैका अधिकार सुनिश्चित रहेका बताउनुभयो ।

संविधान संशोधनको प्रस्तावले समस्या ल्याएको भन्दै मधेशी दलहरुले कहिले जात जातिको नाममा, कहिले भाषाको नाममा बखेडा झिकिरहेको उहाँको आरोप छ । देशको स्वाधिनता, अखण्डता, एकतामा संविधान संशोधन प्रस्तावले आँच पुर्याएको भन्दै आफू लगायतका ९ दलले बिरोध गरेको भन्दै संसदीय मूल्य र मान्यताको चर्कौ स्वरमा वकालत गर्ने कांग्रेस माओवादीले सबै विपक्षी दलको बिरोधका बाबजुत शंशोधन बिधेयक पेश गरेको भन्दै यो व्यवस्थापिका संसदको नियमावली विपरित भएको बताउनुभयो ।

देश र जिल्लाको विकासका लागि एमालेले २०५१ साल देखि एमालेको नेतृत्वमा बनेका विभिन्न सरकाले ठोस खाका ल्याएको नेता रावलको भनाई छ ।

जिल्लाका केही अवरुद्ध बिकास निर्माणका योजना चित्रै पुल, मंगलसैन दरबार, कैलाशखोला जलविद्युत आयोजना, ५५ कोठे चौरपार्टी अस्पतालको भवन लगायतमा आफुले गम्भिर ध्यान दिइरहेको भन्दै काम नगर्नेलाई कारबाही गर्न प्रमुुख जिल्ला अधिकारीलाई समेत भनिसकेको बताउनुभयो ।

माधव नेपालको नेतृत्वका सरकारको पालामा मध्येपहाडी लोकमार्ग, सेती लोकमार्ग, बुढीगंगा जलविद्युत आयोजनाका काम अघि बढाएको उहाँले बताउनुभयो ।

यस्तै केपी ओली नेतृत्वको सरकारको पालामा देशका विभिन्न खानी उत्खनन गर्ने, उद्योग धन्दा संचालन गर्ने, भारत संग ७ बुँते सहमति, चीनसंग १० बुँदे सम्झौता लगायतका काम एमालेले अघि बढाएको उहाँले स्मरण गर्नुभयो ।

देशको राजनीतिक अस्थिरताको कारण चाहेजस्तो विकास हुन नसकेको भन्दै अब देशलाई सम्बृद्धिको बाटोमा अघि बढाउनुपर्ने उहाँको भनाई छ । सबै देशभक्त नागरिकले देशको हितका लागि बोल्नुपर्ने भन्दै नेता रावलले एमाले हिमाल, पहाड र तराईका जनताको हितका लागि लडिरहेको भन्दै देशभर र तराईमा समेत एमालेप्रति आकर्षण बढिरहेको बताउनुभयो ।

कसैकसैले एमाले तराई, मधेश बिरोधी पार्टी भएको कुप्रचार गरिरहेको भन्दै बरु केही मुठ्ठीभर मधेशी, चुनाव हारेमा र देशको अस्मिताको बारेमा बिदेशी राजदूतावासमा भात खाएर देशघात गर्नेहरु नै मधेश बिरोधी भएको ठोकुवा गर्नुभयो । धेरै मधेशी जनता देशभक्त रहेका स्पष्ट पार्दै नेता रावलले जनताले चुनावमा हराएका व्यक्तिहरु विभिन्न षडयन्त्र गरी देशलाई दीर्घकालिन रुपमा असर पर्ने काम गर्न उद्यत रहेका दाबी गर्नुभयो ।