सिरहा, २४ पुस । नेपाली काँग्रेसका साँसद अमरेश सिंह र भारतीय राजदूत सिरहामा एकै मञ्चमा देखिएका छन् । उनीहरुको साथमा उद्योगपति एवं नेपाल गैरआवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पनि थिए ।
नेपालबाट कार्यकाल सकेर विदा हुन लागेका भारतीय राजदूत रञ्जीत रेलाई कांग्रेस नेता अमरेशकुमारले सोमबार मधेसमा घुमाएर सम्मान दिएका हुन् ।
त्यसअवसरमा अमरेशकुमारले राजदूत रे आफ्नो धेरै नजिकको मित्र रहेको बताए । भारतनिकट मानिने अमरेशकुमार र नेपालमा अनावश्यक चलखेल गर्ने भारतीय राजदूतको निकटतालाई दुबैबीचको साँठगाँठका रुपमा हेरिन थालिएको छ ।
अमरेशकुमारकै आग्रहमा सिरहा पुगेका भारतीय राजदूतले त्यहाँको कर्जन्हामा संचालित फूलकुमारी महतो मेमोरियल अस्पतालमा ‘आमा तथा बच्चा विशेषज्ञ स्वास्थ्य उपचार’को उद्घाटन गर्दै एम्बुलेन्स दिने प्रतिबद्धता पनि जनाए ।
राजदूत रे मेरो नजिकको मित्रः अमरेश
कार्यक्रममा कांग्रेस नेता अमरेशकुमारले सम्बोधनका क्रममा राजदूत रे आफ्नो धेरै नजिकको मित्र रहेको बताए । उनले आफ्नो गृहजिल्लामा पनि यहाँको जस्तै सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न उद्योगपति डा. महतोका परिवारसँग आग्रह गरे । उनले भने– ‘अस्पतालका लागि हामी जग्गा उपलब्ध गराउँछौं ।’
काँग्रेस नेता सिंहले मधेस विकासमा पछाडी परेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने– ‘मधेसको हुलाकी राजमार्गको निर्माण भएको भए आज मधेश विकासमा अगाडी हुने थियो । तर पहाडी शासकका कारण मधेस विकासमा पछाडी पर्यो ।’ सिरहा, सप्तरी, धनुषा महोत्तरीभन्दा पनि पहाडी जिल्ला हुम्ला जुम्ला विकासमा अगाडी रहेको उनको भनाई थियो ।
राजदूत रेलाई अभिनन्दन
भारतीय राजदूत रेलाई उद्योगपति डा. महतोबासीले अभिनन्दन गरे । कार्यक्रम स्थल अस्पताल नपुग्दै सडकमा लाइन लागेर पुरुष तथा महिलाहरु उभिएका थिए । राजदूत रेसँगै नेता सिंह पुगेपछि स्थानीयले फूलमालाले भव्य स्वागत तथा अभिनन्दन गरे । अस्पताल पुगेपछि उद्योगपति डा. महतोकी स्वीर्गिय आमा फूलकुमारी महतोको शालिकमा माल्र्यापण गरेका थिए । उनले अस्पतालको माथिल्लो तल्लामा रिबन काटेर ‘आमा तथा बच्चा विशेषज्ञ स्वास्थ्य उपचार’ सेवाको उद्घाटन गरे । त्यसपछि कार्यक्रम स्थलमा पुगेपछि अस्पतालको तर्फबाट उधोगपति डा. महतो, उनका श्रीमती समता महतो र उनका भाई साँसद डा. विरेन्द्र महतोले संयुक्त रुपमा राजदूत रायलाई मिथिला पेन्टिङ प्रदान गरेका थिए ।















प्रतिक्रिया