२८ आश्विन २०८३, बुधबार

राष्ट्रसंघमा भारतविरुद्ध उजुरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद, २५ । पुस पाकिस्तानले भारतले आफ्नो स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघमा उजुरी हालेको छ । पाकिस्तानले आफ्नो देशमा गरेको हस्तक्षेपसँग जोडिएका सबुतसहितको एक रिपोर्ट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई बुझाएको हो ।

उसले भारतका यस्ता गतिविधि रोक्न समेत संयुक्त राष्ट्रसंघसमक्ष अपिल गरेको छ । बलुचिस्तान, कराँचीलगायतका स्थानमा भारतले हस्तक्षेप गरेको भन्दै उसको हस्तक्षेप रोक्न पाकिस्तानले माग गरेको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानकी स्थायी प्रतिनिधि मलिहा लोधीले महासचिव गुटेरेजलाई सबुतसहितको प्रतिवेदन बुझाएको पाकिस्तानको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

पाकिस्तानले बुझाएको प्रतिवेदनमा भारतको गुप्तचर एजेन्सी ‘रअ’ पाकिस्तानको बलुचिस्तान, फाटा र कराँचीमा आतंकवादी गतिविधिलाई बढावा दिन सघाइरहेको उल्लेख रहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

पाकिस्तानले यसअघि सन् २०१५ मा राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुनलाई तीनवटा प्रतिवेदन बुझाएको थियो । पाकिस्तानको विदेश मन्त्रालयका सल्लाहकारले आफनो पत्रमा लेखेका छन्, ‘बुलुचिस्तानमा गिरफ्तार भएका कथित ‘रअ’ का एजेन्ट कुलभूषण यादवको बयानले भारतको हस्तक्षेपलाई पुष्टि गर्छ ।’

भारतले आतंकवादी गतिविधिमा सामेल भएर लामो समय देख राष्ट्रसंघको चार्टरको उल्लंघन गरिरहेको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानले संयुक्त राष्ट्रसंघका महासचिव तथा अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई आफूले बुझाएको प्रमाणको गहन अध्ययन गर्न माग गरेको छ ।

उसले भारतको हस्तक्षेपकारी गतिविधि नरोके विश्व तथा यस क्षेत्रको शान्तिका लागि खतरनाक हुने चेतावनी दिएको जनाइएको छ । ‘पाकिस्तानले शान्ति चाहन्छ । यसको मतलब यो होइन कि हामी आफ्नो स्वायत्तता र स्वतन्त्रता माथिको हस्तक्षेप स्वीकार गर्छौं’, प्रतिवेदनमा भनिएको छ ।

पाकिस्ताले आफ्नो स्वतन्त्रताको रक्षाका लागि जस्तोसुकै कदम चाल्न सक्ने जनाएको छ । यसअघि पाकिस्तानमा गिरफ्तार ‘रअ’ एजेन्ट कुलभूषण यादवको बयानलाई भारतले अस्वीकार गरेको थियो । पाकिस्तानले तिनै यादवको बयानलाई आधार बनाएर प्रतिवेदन राष्ट्रसंघलाई बुझाएको हो । राष्ट्रसंघका महासचिव गुटेरेजका प्रवक्ता स्टिफन डुजेरिकका अनुसार पाकिस्तानले महासचिवलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । – एजेन्सी