
काठमाडौं, २४ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही थाइल्याण्ड प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आइकाओ) को बैंककमा हुने क्षेत्रीय कार्यालयको कार्यक्रममा सहभागी हुन मन्त्री शाही आइतबार दिउँसो थाइल्याण्डतर्फ प्रस्थान गरेका हुन् ।
थाइल्याण्डको बैंककमा रहेको आइकाओको एसिया तथा प्रशान्त क्षेत्रको कार्यालयमा ९ जनवरी देखि १० जनवरीसम्म कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका सदस्य राष्ट्रहरू नेपाल सहित एसिया प्रशान्त क्षेत्रमा रहेका मुलुकहरूको सहभागीता रहने छ ।
नेपाल जस्तो पर्यटकीय सम्भावना बोकेको र नागरिक उड्डयन क्षेत्रमा अगाडि बढ्ने अवस्थामा रहेको मुलुकका लागि क्षेत्रीय कार्यालयको कार्यक्रमका सहभागी हुनुका साथै आफ्नो विषय प्रस्टसँग नेपालको नागरिक उड्डयन क्षेत्रको हितमा राख्ने महत्त्वपूर्ण अवसर समेत मानिन्छ ।
कार्यक्रममा एशिया प्रशान्त क्षेत्रमा रहेको नागरिक उड्डयन क्षेत्रको विद्यमान अवस्था र सुरक्षाको पछिल्लो अवस्था लगायतका विषयमा छलफल हुने सम्भावना रहेको छ ।
मन्त्री शाहीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम समेत बैंकक प्रस्थान गरेका छन् । भ्रमण सकेर मन्त्री शाही पौष २७ गते दिउँसो १२: ४५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया