– मोहन पौडेल
परासी, २३ पुस । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पहाड र मधेस अलग गराउँदा दिर्घकालिन रुपमा मधेसलाई नै असर पुग्ने बताउनुभएको छ ।
स्रोत र साधनको हिसाबले पहाडी क्षेत्र धेरै सम्भावना भएको र त्यसको उपयोग गर्न नपाए मधेसका नागरिकलाई समस्या हुने उहाँको भनाई छ ।
मधेसी मोर्चाले मधेसी नागरिकको वकालत गर्न खोजेपनि समयमै नबुझे दिर्घकालिन रुपमा मधेसलाई नै समस्या हुने उहाँले बताउनुभयो । उहाँले नयाँ संविधान लागु नभए नेपालमा कायम रहेका विभेदको अन्त्य नहुने बताउनुभएको छ । नेपालमा विभिन्न किसिम र बहानामा भइरहेको विभेदको नयाँ संविधानले अन्त्य गरेको तर त्यो संविधान लागु गर्न नदिएर विभेद अन्त्य गर्न नचाहेको प्रष्ट भएको दावि गर्नुभयो ।
नेकपा एमाले क्षेत्र नं. ४ नवलपरासीले शनिबार परासीमा आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले नयाँ संविधान लागु नभए भाषिक र सास्कृतिक विभेद अन्त्य नहुने बताउनुभयो । मधेसका नाममा राजनीति गर्ने तर मधेसको विकासमा कहिले ध्यान नदिनेहरुले मधेसको विकासमा सवैभन्दा धेरै योगदान पुर्याएको पार्टीलाई मधेसी विरोधीको संज्ञा दिनु उचित नभएको उहाँले बताउनुभयो । केपी ओली नेतृत्वकै सरकारले मधेसको विकासका लागि सवैभन्दा धेरै योजना ल्याएको नेता शंकर पोखरेलले बताउनुभयो ।
नेकपा एमाले क्षेत्र नं. ४ नवलपरासीका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य तिलक महत, लिला गिरी, केन्द्रीय स्कुल विभागका सदस्य द्धोय घनश्याम कोईराला र बद्री खनाल लगायतले बोल्नुभएको क्षेत्रिय सचिव कृष्ण देवकोटाले बताउनुभयो ।
यस्तै एमाले क्षेत्र नं. २ ले पनि कावासोतीमा दुई दिने प्रशिक्षण सम्पन्न गरेको छ । एमालेका पोलिटव्युरो सदस्य गणेश तिमिल्सीनाको प्रमुख आतिथ्य तथा सुर्य पाण्डेको अध्यक्षमा सो कार्यक्रम भएको एमाले अध्यक्ष रोशन गाहाले बताउनुभयो ।












प्रतिक्रिया