काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संविधान संशोधन विधेयक जबरजस्ती अगाडि बढाउन खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ ।
ललितपुरको भैसेपार्टीस्थित पार्टी उपाध्यक्ष बामदेव गौतमको निवासमा भर्खरै सम्पन्न एमाले स्थायी समिति बैठकले सरकारले संशोधन प्रस्ताव फिर्ता नलिए भोलिको संसद बैठक पनि चल्न नदिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेशको सम्मान गर्नपनि सरकार संशोधन प्रस्ताव फिर्ता लिन बाध्य हुनैपर्ने भन्दै एमाले बैठकले सर्वोच्चको आदेशपछि सरकारले प्रस्ताव संसदमा पेश गर्ने कानुनी र नैतिक रुपमा कुनैपनि आधार नरहेको निष्कर्ष निकालेको छ ।
एमाले उपाध्यक्ष भीम रावललेले सर्वोच्चको आदेशपछि संशोधन विधेयक अब औपचारिक रुपमै असंवैधानिक प्रमाणित भएको भन्दै सरकारले फिर्ता लिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको बताए । ‘जबरजस्ती नगरोस् भन्ने हाम्रो आग्रह हो,’ उनले भने- ‘यदि फिर्ता नलिएर जबरजस्ती गरियो भने हामी प्रतिवाद गर्छाैं ।’
शुक्रबार काठमाडौमा भएको जनशक्ति प्रदर्शन सफल भएकोमा सबैलाई धन्यवाद दिँदै बैठकले संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्न सरकारलाई फेरि आग्रह गरेको छ ।
आइतबार व्यवस्थापिका–संसद्को बैठक बस्ने सन्दर्भमा सत्ता पक्षले संविधान संशोधन विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ भने त्यसका असहमत एमालेसहितका नौ विपक्षी दलले त्यसको विरोधमा बैठक अवरुद्व गर्दै आएका छन् ।












प्रतिक्रिया