सिरहा, २२ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खरचुहियामा ट्रकले किचेर एक ५ बर्षीय बालकको ज्यान लिएपछि पीडित परिबाद्धारा १० लाख क्षतिपुर्तीको माग गरेको छ । साथै ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्सपेक्टर राजेन्द्र यादबमाथि कारबाहीको माग पनि गरेको हो ।
पुस २१ गते अन्दाजी करिब २ बजे ना. २ ख. ६१८० नम्बरको ट्रकले राजमार्गको छेउमा उभिएको अवस्थामा गरुराहा ९ का लक्ष्मण रामका ५ बर्षिय छोरा अर्जुन रामको किचेर ज्यान लिएको थियो । घटनापछि आक्रोसित स्थानीय ट्रक मालिकलाई बोलाएर क्षतिपुर्ती दिलाउन माग राखेको बेला ईप्रका कडरबोनाका प्रहरी निरीक्षक यादबले अन्धाधुन्द लाठी बर्साउदै गोली र आश्रु ग्यांस प्रहार गरी दर्जनौं स्थानीयलाई घाईते बनाएका थिए ।
मृतक बालक अर्जुनलाई जर्वजस्ती उठाएर प्रहरीले पोष्टमार्टमका लागि राजविराज पुर्याएको स्थानीय राजदेव रामले गुनासो गरे । उनले भने, ‘सामान्य वातावरण प्रहरीले विथोल्यो । ट्रक मालिकसंग कडरबोनाका इन्सपेक्टर रकमको बार्गेनिङ गरी ट्रक र चालक जोगराउने नाममा स्थानीयमाथि लाठी चार्ज गरेका छन् ।’
पीडित परिवारलाई रु. १० लाख क्षतिपुर्ती, घाईते स्थानीयको निःशुल्क उपचार र दमन गर्ने इन्सपेक्टर राजेन्द्र यादबलाई कडा भन्दा कडा कारबाही नभएसम्म प्रहरीले उठाएर जर्वजस्ती लगेको मृतक बालकको शव नबुझ्ने पीडित परिवारले जनाएको छ ।
ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय कडरबोना लग्न खोज्दा स्थानीयले रोकेका थिए । पछि प्रहरीले लाठी चार्ज गर्दा स्थानीय प्रतिकामा उत्रे र सुरक्षाकर्मीले करिब ५ राउण्ड हवाई फायर र दर्जनौं सेल आश्रु ग्यास प्रहार गरेका थिए ।
मृतक बालकको बुवा लक्ष्मण राम वैदेशिक रोजगारका क्रममा कतारमा छन् । लक्ष्मणका एक मात्र छोरा अर्जुन थिए । अर्जुनको पनि ट्रकले किचेर ज्यान लिएपछि पीडित परिवार शोकमा डुबेका छन् । उनका आमालाई समेत प्रहरीले कुटपिट गरेका थिए । उनी विहिवार सांझदेखि नै पटक पटक मुर्छा पर्ने गरेकी छन् । उनको घरमा हिजोदेखि चुलो समेत बलेका छैन् ।













प्रतिक्रिया