काठमाडौं, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विद्येयकलाई आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले यथास्थितिमा आफ्नो पार्टीले संशोधन विद्येयकलाई समर्थन गर्न नसक्ने बताए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले भने– ‘दलहरुवीच समझदारी नबनाईकन यो विद्येयकलाई बढाउनुहुँदैन्, यथास्थितिमा हाम्रो पार्टीले यो विद्येयकको समर्थन गर्दैन्, यो विद्येयक ल्याउँदा हामी सत्तापक्ष दल भएपनि हामीसँग कुनै छलफल नै गरिएन ।’ उनले विद्येयक तयार पार्दा आफ्नो पार्टीसँग छलफल नभएपनि अहिले विद्येयक ल्याएको एक महिना वितिसक्दापनि आफूहरुले पटक–पटक आग्रह गर्दापनि एक पटकपनि आफ्नो पार्टीसँग छलफल नगरिएको गुनासो पोखे ।
उनले आफ्नो पार्टी सत्तापक्ष भएपनि संशोधन विद्येयक ल्याउने बेलामा कुनै छलफल नै नगरेको उल्लेख गर्दै यो विद्येयकप्रति आफूहरुको कुनै नैतिक बन्धन नरहने जिकिर गरे । थापाले भने– ‘यो विद्येयकमा हामीलाई नैतिक बन्धन छैन, तर हामी सकारात्मक रुपमा सहयोग गर्छों ।’ विद्येयकको विपक्षमा ५ नम्बर प्रदेशका जनताहरु आन्दोलित भएको, एमाले लगायतका विपक्षी दलले संसद अवरुद्ध गरेको, विद्येयकका केही दफाहरु राष्ट्रियहित अनुकुल नरहेको हुँदा हाललाई यथास्थितिमा राखेर नयाँ शिराबाट समझदारी कायम गरेर मात्र अघि बढ्न सरकारलाई उनले आग्रह गरे ।
जबरजस्ती अगाडि बढाइए सरकारी छाड्ने चेतावनी
अध्यक्ष थापाले आफ्नो पार्टीसँग अहिले तीन वटा विकल्प खुल्ला रहेको बताए । पहिलो विकल्पमा अहिलेकै दुई मन्त्रीलाई निरन्तरता दिने, दोस्रो संख्या वृद्धि गर्ने, र तेस्रो भएका मन्त्रीहरुलाईपनि फिर्ता बोलाउने उनले विकल्प अघि सारे । उनले भने– ‘सहमतिमै अगाडि बढ्नुपर्छ । असन्तुष्टका माग पनि सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । यदि सरकार जबरजस्ती अघि बढ्यो भने हामी तेस्रो विकल्प रोज्न बाध्य हुनेछौं ।’












प्रतिक्रिया