झापा, २२ पुस । जिल्लामै पहिलो पटक अग्र्यानिक (प्रांगारिक) चिया उत्पादन गर्न झापाको हल्दिबारी र जलथलका चिया किसान जुटेका छन् । अहिले यहाँका किसान उत्कृष्ट चियापत्ती उत्पादन गर्न रात दिन मेहनत गरिरहनु भएको छ ।
हल्दिबारीका सतेन्द्रकुमार कर्ण पुराना चिया किसान हुन् । विसं २०५४ सालदेखि चियाखेती गर्दै आएका सतेन्द्र आफ्नै पाँच बिगाहा र अरुको गरेर १५ बिगाहा क्षेत्रफलमा चियाखेती गरिरहनु भएको छ । उनी विषादीरहित चियापत्ती उत्पादन गर्नुहुन्छ । पहिले भने सतेन्द्रले चिया बगानमा विभिन्न किसिमका विषादी प्रयोग गर्ने गरेको बताउनुभयो । तर, विषादीकै कारण परिवारका सदस्य बिरामी भएको थाहा पाएपछि उहाँले चियामा विषादीको प्रयोग गर्न छाडेको सुनाउनुभयो ।
जब विषादीको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने उहाँले थाहा पाउनु भयो त्यसै दिनदेखि उहाँले विषादीरहित चिया उत्पादन गर्ने अठोट गर्नुभयो । “विषादीको प्रयोगले किसानदेखि उपभोक्ता सबैलाई हानी गर्ने रहेछ”, उहाँले भन्नुभयो, “त्यसपछि मैले विषादीको प्रयोग गर्न छाडेको छु ।”
अहिले हल्दिबारीका अधिकांश चिया किसान विषादीरहित चिया उत्पादन गर्छन् । चियामा हाल्नुपर्ने औषधिसमेत उनीहरु आफैँले उत्पादन गर्ने गरेका छन् । तितेपाती, बकाइनो, सिमाली, मेवा, लसुन, पिर्रे झार, निम, कालो कच्चु, बोझोलाई गाईको गहुँतमा पकाएर ड्रममा राख्ने र २०–२५ दिनमा चियामा छर्ने औषधि बनाउने गरेको जलथल–५ का चिया किसान पुष्प निरौलाले बताउनुभयो । उहाँ भन्नुहुन्छ “पहिले विषादी छर्किंदा यहाँ बस्नै सकिँदैन थियो, हुस्से लागेजस्तै हुन्थ्यो, अहिले त फाइदै–फाइदा छ ।”
झापाका अधिकांश चिया बगानमा अहिले पनि हानिकारक विषादी प्रयोग हुने गरेको छ । अज्ञानताका कारण पहिले हल्दिबारीका यी किसानले पनि विषादी प्रयोग गरे । तर, अहिले अधिकांशले आफैँ औषधि उत्पादन गर्छन् ।
“हानिकारक विषादी छर्किएपछि निर्धारित समयसम्म चिया टिप्नु हुँदैन, तर हामी त त्योभन्दा अगाडि नै टिपेर फ्याक्ट्रीमा पठाउँदा रहेछौँ” किसान सतेन्द्र भन्नुभयो, “हामीले अहिले आफ्नै गाउँघरमा पाइने वनस्पति पहिचान गरिसक्यौँ, अब कुनै चिन्तै छैन ।” चियामा लगाउने भिटामिन पनि आफँै उत्पादन गरिरहेको उहाँले सुनाउनुभयो । सतेन्द्रले विषादीरहित चिया उत्पादन गर्न सुरु गरेको तीन वर्ष भयो ।
झापाको चियामा लुपर, हेलोपेटिस, रेड स्पाइडर, ग्रीन फल, थ्रीप्स लगायत रोग लाग्ने गरेको छ । आफैँले उत्पादन गरेको औषधि महिनाको दुईपटक स्प्रे गर्दा यी सबै समस्या न्यूनीकरण भएको किसानहरुको अनुभव छ । आफैँले उत्पादन गरेको औषधि छर्किन थालेपछि डेढ गुणाले उत्पादन बढेको उनीहरुको दाबी छ ।
हानिकारक विषादी लगाउन छोडे पनि उनीहरु रासायनिक मल (युरिया, डिएपी, पोटास) भने लगाइरहेकै छन् । १५ बिगाहामा ६० बोरा रासायनिक मल हाल्ने गरेका सतेन्द्रले अहिले २०–२५ बोरा मात्रै हाल्ने गरेको बताउनुभयो । उहाँले प्राङ्गारिक मल उत्पादन गर्न थालेसँगै रासायनिक मलको प्रयोगमा कमी आएको सुनाउनुभयो ।
विसं २०७१ देखि निर्माण सुरु भएको फ्याक्ट्री रु आठ करोड ३४ लाखको लागतमा निर्माण सम्पन्न हुने सहकारीका अध्यक्ष हर्कबहादुर तामाङ बताउनुभयो । सरकारले अहिलेसम्म फ्याक्ट्री निर्माणका लागि रु एक करोड ७० लाख दिइसकेको उहाँले जानकारी दिनुभयो ।
“यहाँबाट अग्र्यानिक चिया उत्पादन गर्ने लक्ष्य हो हाम्रो” सहकारीका अध्यक्ष तामाङले भन्नुभयो, “अहिले त यहाँको चियापत्ती विषादीमुक्त मात्र हुँदैछ, अब त रासायनिक मल पनि हाल्न छोडेर अग्र्यानिक उत्पादन गर्ने योजना हो ।” रासस
















प्रतिक्रिया