४ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति कार्यालयमा प्रचण्ड-देउवाले एमालेले संसद् खुलाउनुपर्छ भनेपछि कड्किए ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको तयारीमा लाग्न प्रमुख पाँच दलका शीर्ष नेतालाई आग्रह गरेकी छन् ।

बैठकमा देउवा र प्रचण्डले एमालेले संसद् खुलाउनुपर्ने भनेपछि ओलीले संविधान संशोधन विधेयक फिर्ता लिए आफ्नो दल तयार रहेको जवाफ दिएका थिए ।

राष्ट्रपति कार्यालयमा विहिबार साँझ कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले विसं २०७४ माघभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यतालाई दृष्टिगत गर्दै सबैलाई समेटेर त्यसको तयारी गर्न दलहरुलाई आग्रह गरेकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार भेटमा राष्ट्रपतिले संविधान संशोधन र कार्यान्वयनका विषयमा छलफल पनि गरेकी थिइन् ।

शीर्ष नेताको भेटमा राष्ट्रपतिले सुरुमै निर्वाचनको वातावरण नबनेको भन्दै वातावरण बनाउन सरकार र प्रतिपक्षी दलको ध्यानाकर्षण गराएको बैठकमा सहभागी फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरुद्ध हुँदा संविधान संशोधन विधेयक र निर्वाचन विधेयक अलपत्र पर्दा निर्वाचनको विषय ओझेलमा परेको स्पष्ट पार्दै सोमबारका लागि डाकिएको संसद् सञ्चालन भए निर्वाचन घोषणा गर्न सरकार तयार रहेको जानकारी गराएका थिए । सरकार जेठमा निर्वाचन गर्ने तयारीमा रहेको उनको भनाई थियो ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको भनाइमा सहमति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् खुलाउनुपर्ने बताएका थिए ।

जवाफमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन विधेयक अगाडि बढाए संसद् सञ्चालन गर्न आफ्नो दल तयार रहेको स्पष्ट पारे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ शिराबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आठ प्रदेश बनाएर जानुपर्ने आफ्नो पार्टीको प्रस्ताव कार्यान्वयनमा ल्याए समस्या समाधान हुने धारणा राखेको नेता चौधरीले बताए ।