काठमाडौं, २१ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक (सिईओ) सुशील ज्ञवालीले आफूलाई पदबाट हटाइएको निर्णयबारे जानकारी नभएको बताएका छन् ।
साथै उनले आफू अरु दिनझै आजपनि प्राधिकरणको काममा व्यस्त रहेको जानकारी दिए ।
विहिबार विहान सरकारले तपाईलाई त हटाउने निर्णय गरिसक्यो भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘साँझ पाँच बजेसम्म म कार्यालयको काममा सदा झै व्यस्त भएँ । सो समयसम्म पत्र आएको जानकारी मलाई छैन ।’
उनका अनुसार अहिले हटाइएको पत्र उनलाई आएको छैन् । यदि हटाइएको पत्र आए त्यसपछि कसरी अगाडि भन्नेबारे सोच्ने सकिने उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा विहिबार विहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाउने निर्णय गरेको थियो । उनको ठाउँमा कांग्रेसनिकट गोविन्द पोखरेललाई ल्याउने तयारी छ ।
ज्ञवालीलाई केपी ओली नेतृत्वको तत्कालिन सरकारले पाँच वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर, उनी एक वर्ष नवित्दै सरकार परिवर्तन र राजनीतिको सिकार बने ।
सरकारले पदबाट हटाएसँगै ज्ञवालीले आफू निकटस्थसँग अदालत जाने बताउन थालेका छन् । प्रचण्ड सरकारको निर्णयविरुद्ध उनले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिने निकटस्थहरु बताउँछन् ।











प्रतिक्रिया