काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साथ नदिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव पुस २४ गतेको बैठकमा अगाडि बढाउने आश्वासन मधेसी मोर्चालाई दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताहरूको बैठकमा दाहालले पुस २४ गते कुनै पनि हालतमा संशोधन प्रस्ताव दर्ता गराउने बताउका हुन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केवश झाले संशोधन प्रस्तावलाई अबको संसद बैठकमा अगाडि बढ्ने आश्वास प्रधानमन्त्रीका तर्फबाट पाएको बताए । ‘प्रधानमन्त्री ज्यूले संशोधन प्रस्तावलाई अबको संसद बैठकमा टेबुल गर्ने आश्वासन दिनुभएको छ’, उनले भने, ‘अब संशोधन प्रस्ताव रुक्दैन अगाडि बढ्छ । संसदमा टेबुल हुन्छ ।’
बैठकमा मधेसी मोर्चाले संशोधन प्रस्तावलाई परिमाजर्न गर्नका लागि दबाब पनि दिएको थियो । प्रधानमन्त्री दाहालले सो विषयमा पछि छलफल गर्न आश्वासन समेत दिएका छन् ।
संसदमा एमालेले संशोधन प्रस्तावलाई अबरोधको प्रयास गरेमा सोही अनुसार अगाडि बढ्ने तयारी पनि सत्तारुढ दलहरूले गरेका छन् ।
बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने व्यस्तताका कारण अनुपस्थित रहेका थिए ।











प्रतिक्रिया