काठमाडौं, २१ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।
ज्ञवालीलाई हटाउने निर्णयलाई गैरजिम्मेवारीपनको पराकाष्टा भन्दै एमालेले ज्ञवालीलाई आफै काम गर्न अवरोध गर्ने र आफै काम गरेन् भनेर स्पष्टिकरण लिँदै हटाउने निर्णय गरेर सरकारले प्रतिशोध साध्न खोजेको प्रतिक्रिया दिएको छ ।
प्राधिकरणका उपाध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष भीम रावलले भूकम्प पीडित जनतालाई समयमै छानामुनी ल्याउने काममा बाधा पुगाउन र केही व्यक्तिको स्वार्थपूर्तिका लागि यो निर्णय गरिएको बताए ।
आफ्नो स्वार्थ अनुरुप काम नगरेकोले ज्ञवालीलाई सरकारले हटाएको दाबी गर्दै रावलले भने- ‘यही सरकारका उपप्रधानमन्त्री निधिजीको अली बढी स्वार्थ रहेको देखिन्छ । सायद लेनदेनको कुरा हुन सक्छ । त्यो नमिल्दा ज्ञवालीलाई हटाइयो ।’
प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल हुन् । उनकै अध्यक्षतामा आज विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाउने निर्णय गरेको थियो । उनको ठाउँमा कांग्रेस निकट डा. गोविन्द पोखरेललाई ल्याउने तयारी छ ।
ज्ञवालीलाई एमाले-माओवादी गठबन्धनमा बनेको तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ५ वर्षका लागि प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो । तर, सरकार परिवर्तनसँगै ज्ञवाली कार्यकालको एक वर्षमै हटाइए ।
‘विमलेन्द्र निधिको डिजाइनमा हटाइयो’
एमाले उपाध्यक्ष रावलले सरकारका उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्राधिकरणको सुरुको बैठकमै सीइओलाई दोषारोपण गर्दै हटाउने ढंगले व्यवहार गरेको स्मरण गर्दै उनकै डिजाइनमा हटाउने निर्णय दाबी गरे ।
प्रचण्ड नेतृत्वको सरकारले सुरुदेखि नै प्राधिकरणलाई सहयोग नगरेको र प्रधानमन्त्रीले खाली रिजल्ट मात्रै चाँहियो भन्ने गरेको रावलको आरोप छ ।












प्रतिक्रिया