४ मंसिर २०८३, शुक्रबार

‘शेरबहादुरजीले हामीसँग एक दर्जनचोटि परिमार्जनसहित प्रस्ताव पारित हुन्छ भन्नुभएको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुुस । मधेशी मोर्चाका शीर्ष नेता एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले भने– ‘आगामी २४ गते बस्ने संसद बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरोस्, हामी त्यसमाथि संशोधन प्रस्ताव राख्छौं, त्यसपछि संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गर्नुपर्छ, काँग्रेस, एमाले र माओवादी केन्द्रले पनि सहयोग गर्नुपर्छ ।’

संशोधन विद्येयक टेबुल गराएपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्तावलाई काँग्रेस, माओवादी केन्द्रले समर्थन गरे प्रस्ताव दुई तिहाईले पारित हुने उनले बताए । अध्यक्ष ठाकुरले संशोधन जसले जारी गरे उनीहरुले नै यो संशोधन त्रुटिपूर्ण छ भनेर स्वीकार गरिसकेको उल्लेख गर्दै भने– ‘जसले यो संविधान जारी गरे, उनीहरुले नै त्यतिवेला यो त्रुटिपुर्ण छ भनेर बोलेको र यसलाई संशोधन गर्छों भनिसकेका छन्, यो भन्दा पहिलेपनि उनीहरुले दुई वटा विषयमा संशोधन गरिसके, फेरि पनि संशोधन गर्ने जिम्मा उनीहरुकै हो, यो संविधान त्रुटिपुर्ण र विभेदकारी छ ।’

‘संविधानको धारा २७४ खारेज गर्नुपर्छ’

अध्यक्ष ठाकुरले संविधानको धारा २७४ ले संविधान संशोधनलाई कुनै हालतमा नरोक्ने दाबी गर्दै भने– ‘अहिलेको व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित रुप भएकाले संसदले नै सीमांकन संशोधन गर्नसक्छ ।’

ठाकुरले संविधानको धारा २७४ लाई खारेज गर्नुपर्ने बताउँदै भने– ‘धारा २७४ संघीय प्रणालीलाई नै रोक लगाउने खालको छ, त्यसैले यसलाई खारेज गर्नुपर्छ, यसले सात प्रदेशको बारेमा बोलेकोले यो धाराको आवश्यक छैन, यसको कुनै औचित्य छैन ।’ संक्रमणकालीन अवस्था भएर अहिले धारा २७४ निष्कृय भएको भन्दै उनले प्रदेशसभा गठनपछि यो सक्रिय हुने भएकाले औचित्य नभएको स्पष्ट पारे ।

‘एमालेको बुद्धि बिस्तारै बिस्तारै आउँदैछ’

हालै सर्वोच्च अदालतले दिएको आदेशसँग आफूहरुले राखेको मागको सरोकार नभएको समेत ठाकुरले जिकिर गरे । उनले संशोधन विद्येयक पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले अघि भने, ‘यो संशोधन विद्येयक पारित हुन्छ, यो प्रस्ताव त एमालेका नेताहरुले नै अघि सारेको प्रस्ताव हो, हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेको प्रस्ताव हो, त्यसैले यो प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन् ।’ उनले एमालेको बुद्धि विस्तारै–विस्तारै आउँदै गरेको बताउँदै भने– ‘त्यसैले एमालेले पनि सहयोग गर्छ ।’

‘शेरबहादुरजीले परिमार्जनसहित प्रस्ताव पारित हुन्छ भन्नुभएको छ’

रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै काँग्रेस सभापति शेरबहादुर देउवाले त यो संशोधन विद्येयक बिना परिमार्जन पारित हुने बताएका छन् नि भन्ने पत्रकारको एक प्रश्नमा उनले भने, ‘शेरबहादुरजीले को सँग कहाँ कतिखेर बोल्नुभयो, त्यो थाहा भएन, राति भन्नुभयो कि दिउँसो भन्नुभयो, तर हामीसँग एक दर्जनचोटि परिमार्जनसहित प्रस्ताव पारित हुन्छ भन्नुभएको छ ।’

‘जनसंख्याका आधारमा पूनर्संरचना हुनुपर्छ’

उनले स्थानीय तह पूनर्संरचना आयोगले गरेको पूनर्संरचनाको कामप्रति असन्तुष्टि पोखे । ठाकुरले भने– ‘स्थानीय तहको पुनर्संरचना गर्दा जनसंख्याको आधारमा गरिनुपर्छ, अहिले तराईमा ५१ प्रतिशत जनसंख्या छ, यो पूनर्संरचना अनुसार मुस्किलले २५ प्रतिशतमात्रै तराईको प्रतिनिधित्व हुन्छ, त्यसैले पूनर्संरचना गर्दा जनसंख्यालाई प्राथमिकता दिनुपर्छ ।’

मोर्चाका नेताहरुबीच कुनै विवाद नरहेको दाबी

उनले मोर्चाका नेताहरुबीच कुनै विवाद नरहेको समेत दाबी गरे । उनले भने– ‘हाम्रो विचमा कुनै विमति छैन, परिमार्जनसहित संशोधन विद्येयक पारित हुनुपर्छ भन्ने हामी सबैको धारणा, तपाईहरु कुन चस्माले हेर्नुहुन्छ थाहा भएन, तर हामी एक छौं ।’