४ मंसिर २०८३, शुक्रबार

यस्तो छ पुस २२ का लागि एमालेको अन्तिम तयारी, आज युवाहरुले शक्ति प्रदर्शन गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । संविधान संशोधन विधेयकको विरोधमा नेकपा (एमाले) सहितका ९ राजनीतिक दलको आयोजनामा यही पुस २२ गते राजधानीमा हुने बृहत जनप्रदर्शनको तयारी तीब्र गतिमा अघि बढिरहेको छ ।

यसैक्रममा भोलिको जनप्रदर्शनलाई व्यवस्थित गर्न पाँच सय स्वयम्सेवक परिचालन गरिने भएको छ । आज बिहान नेकपा (एमाले) केन्द्रीय कार्यालयमा स्वयम्सेवकका लागि निर्देशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टी उपाध्यक्ष वामदेव गौतमले अनुशासित र चनाखो भएर काम गर्न स्वयम्सेवकहरूलाई निर्देशन दिनुभयो । अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढंगले सम्पन्न गर्न उहाँले जोड दिनुभयो ।

युवाहरुले अपराह्न शक्ति प्रदर्शन गर्ने

फाइल तस्वीर

भोलिको जनप्रदर्शनको प्रचार–प्रसारका लागि आज पुस २१ गते अपरान्ह ३ बजे प्रदर्शनीमार्ग काठमाडौंबाट मोटरसाइकल र्याली आयोजना गरिएको छ । उक्त स्थानबाट सुरु भएर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगेर मोटरसाइकल र्याली समापन हुनेछ ।

भोलिको जनप्रदर्शन दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुने

भोलि पुस २२ गतेको जनप्रदर्शन अपरान्ह १ बजे रत्नपार्कबाट सुरु हुनेछ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउनेछन् । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पुस २२ गतेको जनप्रदर्शन र त्यसअघि हुने मोटरसाइकल र्यालीलगायतका प्रचार–प्रसारका कामहरूले आम सर्वसाधारणको आवतजावतमा कठिनाई नहोस् भन्ने कुरामा आयोजक पार्टीहरू सचेत छन् । त्यसप्रति आम जनसमुदायबाट संयम र धैर्यताको अपेक्षा गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

असंवैधानिक, राष्ट्र र जनविरोधी, सामाजिक सद्भाव र एकताविरुद्ध प्रस्तुत गरिएको संविधान संशोधन प्रस्तावलाई असफल पार्दै नेपाल राष्ट्र र नेपाली जनताको भविष्यलाई सुनिश्चित गर्ने ध्येयले आयोजना गरिएको भोलि पुस २२ गतेको जनप्रदर्शनमा सहभागी भई नेपाली जनताको सुदृढ एकता प्रदर्शनमा आम जनसमुदायमा ९ दलले अपिल समेत गरेका छन् ।