
– विमल योगी
काठमाडौं । वरिष्ठ लोक गायक एवम् सर्जक मधुबाबु थापाको १३औँ दिनको पुन्यतिथिका अवसरमा रापती समाजसहितका संघसंस्थाले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेका छन् ।
काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको हलमा मंगलबार राप्ती अञ्चलका श्रृष्टाहरूले गायक थापाको स्मरण गरेका हुन् । श्रद्धाञ्जलि कार्यक्रममा राप्तीका गायक, गायिका, संगीतकार र बाद्यबाद्यकहरूले थापाका गीतहरू गाएर सुनाएका थिए ।
‘भैगो हजुर मायाजाल नबुन, गैगो हजुर माया लाउने दिन’, ‘सानी मायालाई, आफू हिँड्यौ हामीलाई ज्योति दियौं’ ‘झिमझिम परेली झिम्काइदेउ’, ‘मेरी मायालाई पिर पर्छ सम्झाईदेउ’, ‘खाइन तिउन दाई लालै पल्लपे सिस्नोको’, ‘गर्यौ किन वाचा आउँछु भनेर’, ‘जानू नै थियो भने नआउने गरेर’ लगायतका गीत गाएर थापाप्रति श्रद्धाञ्जलि दिइएको रापती समाजका अध्यक्ष शशि शर्मा मजगैँयाले जानकारी दिए ।
‘राप्ती अञ्चलका कलाकार साथीहरूले मधुबाबु थापा दाईका गीतहरू कार्यक्रममा गाएर श्रद्धाञ्जलि दिनुभयो’, उनले भने, ‘मधु दाईका गीत र सृजनाबाट हामीले आगामी दिनेमा अझ सिक्ने प्रयास गर्नेछौँ ।’
कार्यक्रममा सहभागी वक्ताहरूले तीस वर्ष अगाडिको समयमा साधारण गाउँबाट आएको व्यक्तिले राप्ती अञ्चलको नाम राख्न सकेको भन्दै थापाको स्मरण गरे ।
श्रद्धाञ्जलि कार्यक्रममा संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, रापती समाजका पूर्व अध्यक्ष एवम् संगीतकार सन्तोष श्रेष्ठ, गायक गोविन्द मधुर आचार्य, रापती समाज काठमाडौंका अध्यक्ष शशि शर्मा मजगैयाँ, गीता रेउले, गायक प्रेमप्रकाश वली, गायिका लीलालवती बुढा, खर्क बुढालगायतले थापा स्मरण गरेका थिए ।
वरिष्ठ गायक थापाको पुस ७ गते ६३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो । विक्रम संवत २०१० साल वैशाख १० गते दाङको राजपुरमा जन्मेका थापाले २ वर्षको उमेरमै दृष्टि गुमाएका थिए । थापाले २०३५ सालदेखि औपचारिक गायन सुरु गरेका हुन् ।















प्रतिक्रिया