काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणको प्रमुख भएको एक हप्तामै काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका कुलमान घिसिङले नेपालको दोस्रो सहर पोखराबाट पनि लोडसेडिङ हटाएका छन् ।
यहि बर्षभित्र पुरै नेपाललाई लोडसेडिङमुक्त बनाउने भन्दै घिसिङले नेपाल उद्योग वाणिज्य महासङ्घले राजधानीमा आयोजना गरेको कार्यक्रममा भने– ‘पोखरामा १५ दिनयता लोडसेडिङ छैन् । अब हाम्रो मिसन पूर्वाञ्चलबाट लोडसेडिङ हटाउने हो । त्यसमा केन्द्रीत हुन्छौं ।’
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भारतबाट आयात गरिएको विद्युतले मात्रै विद्युतभार कटौतीको अन्त्य भएको नभई कालीगण्डकी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दीजस्ता ठूला आयोजनालाई पूर्ण क्षमतामा विद्युत् बढी माग हुने समयमा चलाइएको स्पष्ट पारे ।
विगतमा कुनै पनि आयोजना पूर्ण क्षमता नचल्ने गरेका कारण पनि जनता अँध्यारोमा बस्नु परेको यथार्थ पेस गर्दै उनले विद्युत्भार कटौती आधारभूत रुपमा अन्त्य भएको जानकारी दिए ।
लोडसेडिङ अन्त्य हुँदा २० अर्ब बढी बचत हुने
महासंघको कार्यक्रममा विद्युत्भार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने तथ्याङ्क पेस गरिएको थियो ।
उद्योग वाणिज्य महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले विद्युत्भार कटौतीको अन्त्यले रु १६ अर्बको पेट्रोलियम पदार्थ र रु चार अर्बको अन्य खर्च स्वदेशमा नै रहने वातावरण पैदा भएको बताए ।
मुलुकलाई अगाडि बढाउने प्रमुख र महत्वपूर्ण आधार भएकाले ऊर्जा क्षेत्रमा लगानी बढाउन आफूहरु तयार रहेको उद्योगी तथा व्यावसायीले बताए ।
अन्तरक्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले आगामी डेढ वर्षभित्र उद्योगी तथा व्यवसायीले माग गरेअनुसारको विद्युत् उपलब्ध गराउन सरकार तयार रहेको भन्दै नयाँ नयाँ उद्योग व्यवसाय खोल्ने कार्य थालनी गर्न आग्रह गरे ।
ऊर्जा क्षेत्रको विकासमा सरकारले जे जति गर्नुपर्ने हो, सबै प्रकारका सहयोग गर्न तयार रहेको छ भन्नुहुँदै मन्त्री शर्माले अब गफ गर्ने समय सकिएको र काम गर्ने बेला आएको बताए ।
ऊर्जा मन्त्रालय, प्राधिकरण चौबिसै घन्टा खटेका कारण मुलुकलाई आधारभूत रुपमा विद्युत्भार कटौती अन्त्य गर्न सकिएको बताउँदै उनले उद्योगी तथा व्यवसायीले पनि सरकारको कामलाई पूर्ण क्षमताका साथ सहयोग गर्न आग्रह गरे ।
सरकारले १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जानकारी दिँदै मन्त्री शर्माले कम्तीमा पनि आठ हजार मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गर्नुपर्ने, वैदेशिक लगानीमा थप केही हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्यअगाडि बढाउनुपर्ने उल्लेख गरे ।
महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योग–व्यावसायमा सुनौलो युगको सुरुवात भएको भन्दै यसलाई निरन्तर अगाडि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको बताए ।
उद्योग–व्यवसायले हाल दैनिक २० घन्टा विद्युत् पाइरहेका छन् । गत साल यही समयमा दैनिक १० घन्टा विद्युत्भार कटौती हुन्थ्यो भने औद्योगिक क्षेत्रमा समेत नियमित १३ घन्टा विद्युत् कटौती गरिन्थ्यो ।
















प्रतिक्रिया