पाँचथर, १९ पुस । पाँचथरमा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटबलमा आयोजक फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार फिदिम माविको खेल मैदानमा भएको खेलमा फिदिमले पाहुना टोली फ्यान्स क्लब विआसी भुटानलाई २–० ले पराजित गर्यो । फिदिमका लागि दुवै गोल जर्सी नं. ६ का शरण बस्नेतले गरे । उनले दोश्रो हाफको १९ औँ र ३९ औँ मिनेटमा गोल गरेका थिए ।
फिदिमले पाएका गोल गर्ने दुई अवसर गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो हाफमा फिदिम लयमा फर्कियो र सेमिफाइनल यात्रा तय गर्यो ।
प्रतियोगितामा फिदिम हिम कस्तुरी क्लब सिराहालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने भुटान बाई पाएर क्वाटरफाइनल पुगेको थियो ।
प्रतियोगिता अन्तर्गत बुधवार अन्तिम क्वाटरफाइनलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र चर्च व्वाईज क्लब काठमाण्डौँवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका सचिव चन्द्रप्रकाश सुनुवारले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत विहीवार पहिलो सेमिफाइनलमा मंगलबारको विजेता फिदिम र विर्ता युनाइटेड क्लब झापावीच तथा शुक्रवार हुने दोश्रो सेमिफाइनलमा एलेभेन एरोज सुनसरी र वुधवार हुने खेलको विजेतावीच प्रतिस्पर्धा हुनेछ ।
१६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आउने आइतवार हुने आयोजकले जनाएको छ ।
फोटोः रविन्द्र काफलेबाट ।
















प्रतिक्रिया