काठमाडौं, १९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले खप्तड लगायतका मध्य तथा सुदूर पश्चिममा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रको पर्यटन पूर्वाधारको विकासमा जोड दिदै आफूले सकेको योगदान गर्ने बताएका छन् ।
सुदुर पश्चिम सरोकार मञ्चका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री शाहीले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको भन्दै प्रत्येक प्रदेशमा एउटा महत्वपूर्ण क्षेत्रलाई समेटेर पर्यटन क्षेत्र पूर्वाधार निर्माणको गुरुयोजना तयार गर्न निर्देशन दिएको बताएका छन् ।
खप्तडको पर्यटकीय सम्भावनाको व्याख्या गर्दै मन्त्री शाहीले यो क्षेत्र आफूहरुको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । मानसरोवरलाई लक्षित गरेर सुर्खेत बाजुरा , बझाङ , सिमकोट लगायतका स्थानमा होटल सहितका पर्यटन पूर्वाधार निर्माण गर्नुपर्नेमा मन्त्री शाहीले जोड दिए ।
स्थानीय उत्पादनमा जोड दिदै उनले गरिब भनेको मानसिकताको उपज भएको बताए ।
एक प्रदेश एक पर्यटन क्षेत्रलाई जोड दिएको भन्दै मन्त्री शाहीले मुलुकको विकास र समृद्धिका लागि पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माण तथा विस्तारमा आफूले विशेष ध्यान दिएको बताए ।
पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रभावकारी विकासमा प्रदेशिक रुपमा पर्यटन कार्यलय खोल्नका लागि आफूहरुले तयार गरिरहेको धारणा राखेका छन् ।
पर्यटन बृद्धिका लागि जहाज थप्न आवश्यक रहेको भन्दै मन्त्री शाहीले नेपालगञ्ज र सुर्खेतलाई आधार बनाएर कर्णाली र सुदूर पश्चिमका पहाडी जिल्लामा उडान भर्न निजी एयरलाइन्स कम्पनीहरुसँग आग्रह गरिएको समेत बताए ।
सुदूर पश्चिमाञ्चल सरोकार मञ्च अध्यक्ष विष्णु खत्री , महासचिव ठाकुरमोहन श्रेष्ठ लगायतले सुदूर पश्चिम र कर्णालीका पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको विषयमा बताउँदै पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि मन्त्री शाहीको महत्त्वपूर्ण सहयोगको अपेक्षा रहेको बताए ।













प्रतिक्रिया