१९ कार्तिक २०८३, बिहिबार

श्रीमती बनाएर युवतीलाई बम्बै बेश्यालयमा ५० हजार भारुमा बेच्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ पुस । श्रीमती बनाएर युवती बेच्ने एक पुरुषलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।

जिउ मास्ने बेच्ने मुद्दामा पुनरावेदन अदालत पाटनको २०५८ असोज १७ गतेको फैसलाले ५ बर्ष कैद हुने ठहर भई सजाय वेरुजु भई फरार रहेका मकवानपुर पदमपोखरी–१ बस्ने ४३ बर्षीय भोटे लामा भन्ने ल्वाङ्ग लामालाई केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरी टोलीले पदमपोखरी मकवानपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मकवानपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि आइतबार कारागार कार्यालय भिमफेदी मकवानपुरमा पठाइएको छ ।

२०५० साल भाद्र महिनामा कुपण्डोल ललितपुर स्थित गलैचा कारखानामा काम गर्ने यसै मुद्दाका अर्का प्रतिबादी गोपाल स्याङ्तानले सोही कारखानामा काम गर्ने दुई जना युवतीहरु मध्ये एकजनालाई बिबाह गर्छु भनी झुक्याई दुवै जना युवतीहरुलाई साथ लगाई गोपाल, ज्ञानु भन्ने तितुङ् तामाङ र ल्वाङ्ग लामा समेतका तीन जना प्रतिबादीहरुले बस चढाई पीडित युवतीहरुलाई भारतको बम्बै स्थित बेश्यालयमा पुर्याई भारतीय ५० हजार रुपैयाँका दरले १ लाख भारतीय रुपैयाँमा बिक्री गरेका थिए ।

आफूले श्रीमती बनाई ल्याएकी यूवतीको बिक्रीबाट आएको ५० हजार रकम प्रतिबादी गोपाल स्याङ्तान एक्लैले लिएको र बाँकी ५० हजार रुपैयाँ तीनैजना प्रतिबादीहरुले खर्च कटाई भागबण्डा गरी लिएको अनुसन्धानबाट खुल्न आएको थियो । काठमाडौं जिल्ला अदालतबाट धरौटी तारेखमा छुटेका प्रतिबादी ल्वाङ्ग लामा फैसला पछी फरार रहेकोमा हाल पक्राउ परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।