४ मंसिर २०८३, शुक्रबार

२२ पुसको जनप्रदर्शनका लागि एमालेले गर्‍यो तीन महत्वपूर्ण निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले पुस २२ गतेको राजधानी केन्द्रित जनप्रदर्शनलाई मर्यादित र व्यवस्थित बनाउने निर्णय गर्दै पाँच सय स्वयं सेवक परिचालन गर्ने जनाएको छ ।

एमालेसहितका ९ राजनीतिक दलले यही पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनको तयारी स्वरुप आइतबार बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले जनप्रदर्शनका तयारीको सन्दर्भमा विभिन्न ३ निर्णय गरेको हो । बैठकमा तयारीका समबन्धमा कामहरूको समीक्षा भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पुस २२ गते राजधानीमा व्यापक जनप्रदर्शनको तयारीका लागि एमाले व्यवस्थापिका संसदका सदस्यहरूलाई आ–आफ्नो जिल्ला कमिटी तथा सम्पर्क कमिटी र मञ्चहरूसँग समन्वय गरी तयारीको काममा जुट्न निर्देशन दिएको छ ।

जनप्रदर्शन तथा त्यसभन्दा अघिका तयारीका सिलसिलामा तोकिएका नाराहरू मात्र प्रचार–प्रसार गर्न र प्रदर्शनलाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण पार्टी कमिटी तथा सदस्यहरूलाई अपील गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘जनप्रदर्शनलाई व्यवस्थित गर्न ५ सय स्वयम्सेवकहरू परिचालन गर्ने निर्णय गरिएको छ’, सचिव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघातीभन्दै एमालेसहितका नौँ राजनीतिक दलहरूले सदन र सडक आन्दोलन गर्दै आएका छन् ।