– सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), १६ पुस । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले विखण्डनकारी र विभाजनकारी सोँचको कुनै पनि हालतमा हामी कार्यान्वयन हुन नदिने चेतावनी दिनुभएको छ ।
पश्चिमबाट फर्किने क्रममा कपिलवस्तुको चन्द्रौटामा युवा संघ नेपाल कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै युवासंघ केन्द्रिय अध्यक्ष पहारीले यस्तो बताउनुभएको हो । आन्दोलनलाई कमजोर पार्नका निम्ति दुर्गा तिवारीको हत्या भएको र सन्तोष बुढाथोकीलाई मार्ने ढंगबाट आक्रमण भएको आरोप लगाउँदै अध्यक्ष पहारीले संशोधन विधेयक फिर्ता नभएसम्म आन्दोलनलाई अझ सशक्त रुपमा अगाडि बढाउने बताउनुभयो ।
दुर्गा तिवारी र सन्तोष बुढाथोकीमाथि भएको आक्रमण विसुद्ध राजनैतिक कारण भएको उहाँले बताउनुभयो । साथै राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता राष्ट्रिय अक्षुणतालाई कमजोर पार्नका निम्ति उहाँहरुमाथि सांघातिक आक्रमण गरिएको उहाँले आरोप लगाउनुभयो ।
“तिमीहरुले दुर्गा तिवारीको हत्या गरे हौला, सन्तोष बुढाथोकीलाई गोली प्रहार गर्यौ होला, खुकुरी हान्यौ होला तर आन्दोलनका निम्ति उहाँहरुको रक्तबीजबाट हामी हजारौं दुर्गा तिवारी जन्मिन तयार छौं ।” पहारीले भन्नुभयो – “राजीव पहारी मर्न सक्छ, किरण पौडेल मर्न सक्छ, अशोक चन्द मर्न सक्छ त्यो ठूलो कुरा होइन, राष्ट्र रहनुपर्छ ।”
“प्रचण्ड सरकारबाट राष्ट्रघाती, जनघाती काम भएकाले यसको विरुद्धमा युवा संघ नेपाल अग्रिम मोर्चामा उभिएको कारण युवा संघ नेपालका नेता कार्यकर्तालाई हत्या गरिने प्रयत्न गरिदैछ ।” अध्यक्ष पहारीले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो –“युवा संघ नेपाल भनेको आन्दोलनको नाम हो, सतिसालको नाम हो, बरु सगरमाथा झुक्ला, युवा संघ नेपाल झुक्दैन राष्ट्रियताको निम्ति, गणतन्त्रको निम्ति, जनजीविकाको निम्ति । कायरहरु दिनमा हजार चोटी मर्छन, बहादुर जीवनमा एकचोटी मर्छन् ।”
५ नम्बर प्रदेश कुनैपनि हालतमा विभाजन गर्न,सीमाङ्कन हेरफेर गर्न नदिने बताउँदै अहिले एमाले मात्र होइन कांग्रेस, माओबादी सम्पूर्ण जनता आन्दोलनमा उत्रिएको पहारीले उद्घोष गर्नुभयो । तराई मधेशका सोझासाझा, इमान्दार जनताहरुको इनोसेन्ट ब्ल्याकमेलिङ गरेर केही कथित मधेश केन्द्रित दलहरुले आफ्नो सत्ता स्वार्थपूर्तिका निमित्त विभिन्न खालका गतिविधिहरु गरिरहेको समेत उहाँले आरोप लगाउनुभयो ।
अहिलेको आवश्यकता भनेको संविधानको प्रभावकारी कार्यान्वयन, केपी ओलीले ल्याएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सकियो भने तराई मधेशका धेरै समस्या हल गर्न सकिने उहाँले औल्याउनुभयो । संविधान संशोधन नेपाली जनताको चाहना नभएको बताउँदै अब देश विकासको अभिभार युवा संघको काँधमा आएको उहाँले बताउनुभयो ।

अहिलेको सरकारले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने ढंगबाट अगाडि बढ्ने प्रयत्न गरिरहेको भन्दै आफूहरुले कदापी स्वकार्य नभएको उहाँले बताउनुभयो । आज तराईको भोजपुरी भाषालाई वास्ता नगर्ने, मैथली भाषालाई वास्ता नगर्ने, अवधि भाषालाई वास्ता नगर्ने अनि सम्पन्न भाषाको नाममा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोज्ने कुरालाई आफ्नो पार्टीले किमार्थ स्वीकार्य छैन – उहाँले भन्नुभयो ।
कार्यक्रममा यु्वा सघंका महासचिव किरण पौडेलले अहिले प्रचण्ड सरकार भारतको इसारमा चलेको बताउनु आरोप लगाउनुभयो । यस्तै केन्द्रिय सचिव अशोक कुमार राई, सचिवालय सदस्य अशोक चौलागाईं लगायतले सरकारले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन नरोकिने बताउँदै सबैलाई प्रदेश नम्बर ५लाई टुक्राउनबाट बचाउन आन्दोलनमा होमिन आग्रह गरेका थिए ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य टोपलाल पोखरेल, एमाले जिल्ला सदस्य लंकबहादुर हमाल लगायत युवा संघ कपिलवस्तुका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम युवा संघ नेपालका कपिलवस्तु अध्यक्ष गणेश केसीको अध्यक्षता, सहसचिव ज्योति केसीको स्वागत र सचिव श्याम सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।













प्रतिक्रिया