१९ कार्तिक २०८३, बिहिबार

सरकारले नेपालकोभन्दा भारतको हितमा काम गरिरहेको छः भीम रावल

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, १५ पुस । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री भीम रावलले वर्तमान सरकार भारतको परिकल्पना भएको बताएका छन् ।

आज काभ्रेको बनेपा नेकपा एमाले काभ्रे मोर्चा विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै रावलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेतासहित भारतीयको बैठकले गठन गरेको सरकार भएको बताएका हुन् ।

रावलले माओवादीले युद्धकालमा भारतसँग गरेको प्रतिवद्धताको परिणाम स्वरूप यो सरकारले नेपालको भन्दा भारतको हितमा काम गरेको बताए । उनले भने— ‘भारतीय प्राध्यापक एवं लेखक एसडीमुनीले उनको एउटा अंग्रेजी भाषाको कितावमा माओवादीलाई पहाडबाट तल झार्नमा भारतको भूमिका शिर्षकमा लेखिएको लेखमा तत्कालिन खारायुद्ध पछि माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई नयाँ दिल्ली गई आफुहरूलाई त्यहाँ बस्न दिन माग गरे । त्यसपछि भारत सरकार र भारतीय गुप्तचर संस्थालाई समेत सदैव भारतको हितमा काम गर्ने लिखित प्रतिबद्धतापछि भारतमा लुकेर बस्न दिइएको उल्लेख गरिएको छ । यसै विषयमा ३३ पृष्ठ लामो उक्त लेखमा उल्लेख भएको सो कुराको माओवादीले अहिलेसम्म पनि खण्डन गरेको छैन ।’

रावलले प्रधानमन्त्रीको ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँगको भेटबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भने— ‘नेपालको प्रधानमन्त्रीले भारत भ्रमणमा त्यहाँका प्रधानमन्त्री राष्ट्रपतिलाई नभेटेर के चोर र अपराधीलाई भेट्छत ?’ उनले नेकपा एमाले काभ्रेले पार्टी केन्द्रको तीनमहिने अभियानलाई गाउँ स्तरसम्म पुर्याउन पार्टी जिल्ला कमिटिलाई निर्देशन समेत दिए ।

कार्यक्रमा नेकपा एमाले केन्द्रीय स्कुल विभागका सदस्य एवं नेकपा एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बाँस्कोटाले एमाले संसदीय गणितको नभएर स्वाभिमान र राष्ट्रियताको लडाईं लडेको बताए । उनले भने– ‘नेपाली जनता कोहीपनि राष्ट्रको हितविपरित जान सक्दैन । अहिले आम नेपाली जनता नेकपा एमालेको पक्षमा छ । त्यसैले पनि काँग्रेस र माओवादी लगायत राष्ट्रियता विरोधी शक्ति एमालेको विरुद्धमा लागेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवाले नेकपा एमाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाको लडाईंमा सक्रिय भूमिका खेल्दै आएको र अहिले पनि आम जनता सहित एकताबद्ध भएर राष्ट्रियताको पक्षमा लडिरहेको बताए । नेकपा एमाले काभ्रेका सचिवालय सदस्य एवं मोर्चा संगठन प्रमुख कञ्चन अधिकारीको अध्यक्षतामा कार्यक्रममा सचिव नारायण पाण्डे, सहसचिव इन्द्र तामाङ, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्र लामा, जनवर्गिय संगठनका अध्यक्ष तथा पदाधिकारीहरू लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।