१९ कार्तिक २०८३, बिहिबार

उज्यालो नेपाल अभियानविरुद्ध निरन्तर अवरोधः ऊर्जामन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की(सिल्दुुजुरे), १५ पौष । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्व निरन्तर बाधा हालिरहेको बताउनुभएको छ ।

कास्की जिल्लाको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
आफु मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिरहेको स्मरण गराउदै उहाँले यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा गर्न खोजेको बताउनुभयो ।

कतिपयले उर्जा कहाँ बेच्ने भन्ने चिन्ता व्यक्त गरिरहेको भन्दै उहाँले उर्जा बेच्नेतिर मात्र नभई स्वदेशमै खर्च गर्ने योजना रहेको बताउनुभयो । मन्त्री शर्माले इमान्दारितार्पूक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको गुनासो गर्नुभयो । “काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदैन, उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु” उहाँले भन्नुभयो ।

उहाँले जलविद्युत आयोजनाबाट प्रभावित जनताको लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताको लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर जनताको लागि वितरण गर्ने नीति सरकारले बनाएको जानकारी दिनुभयो ।

काँग्रेस सांसद यज्ञ बहादुर थापाले वर्तमान सरकारमा उर्जा मन्त्रालयको काम सबैभन्दा प्रभावकारी देखिएको भन्दै नीजि क्षेत्रको लगानी प्रोत्साहित हुनेगरी काम गर्न सुझाव दिनुभयो । उहाँले सीसाघाट–सिक्लेस–मादी करिडोर सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

एमाले सांसद एवं विकास समितिका सभापति रविन्द्र अधिकारीले ४ नम्बर प्रदेशमा संचालित जलविद्युत आयोजनाले मुलुकमा ५३ प्रतिशत विद्युत आपूर्ति गरेको भन्दै यस प्रदेशलाई अँध्यारोमुक्त बनाउन माग गर्नुभयो । उहाँले पर्यटकीय नगरी पोखरालाई तत्काल लोडसेडिङमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका कास्की इञ्चार्ज राजकाजी गुरुङ, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, एमालेका स्थानीय नेता वेद बहादुर गुरुङलगायतले कास्कीलाई आजैदेखि लोडसेडिङमुक्त बनाउन माग गर्नुभएको थियो । यस्तै उहाँहरुले यसअघिको सम्झौताबमोजिम स्थानीय जनतालाई शेयर दिन माग गर्नुभयो । यस्तै प्रभावित क्षेत्रका वासिन्दाले उर्जामन्त्रीलाई ज्ञापनपत्र बुझाउदै वातावरणीय क्षतिपूर्ति दिने व्यवस्था मिलाइदिन माग गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ पुस १३ गते माथिल्लो मादी जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको थियो । मादी पावर प्रालिका बिजयबाबु मल्लको २० प्रतिशत र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनको ८० प्रतिशत लगानी रहेको यस आयोजनाको कुल लागत ७ अर्ब रहेको छ । चार वर्ष लगाएर निर्माण सम्पन्न भएको आयोजनाबाट आजदेखि केन्द्रीय प्रसारण लाईनमा साढे १२ मेगावाट बिद्युत थपिएको छ । आयोजनाबाट असारदेखि कात्तिकसम्म मात्र पूर्ण क्षमता अर्थात २५ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी ८ महिना आधाभन्दा कम मात्र विद्युत उत्पादन हुन्छ ।