काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पारित गराउन नयाँ आन्दोलनको घोषणा गरेको छ ।
तमलोपा कार्यालय विजुलीबजारमा विहिबार र शुक्रबार बसेको मोर्चाको बैठकले खबरदारी आन्दोलन गर्ने निर्णय गरेको नेता महन्थ ठाकुरले जानकारी दिए ।
बैठकपछि ठाकुरद्धारा जारी विज्ञप्तिमा प्रस्ताव परिमार्जनसहित संविधान संशोधनका लागि दबाब दिन खबरदारी विरोध प्रदर्शन गर्ने निर्णय भएको उल्लेख छ ।
‘संसद सचिवालयमा दर्ता गराइएको संविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारित गर्नको लागि जनदबाब सिर्जना गर्न मधेसी मोर्चा पुस १८ गते सोमबारदेखि दिउँसो १ बजे जिल्ला जिल्लाको सदरमुकामहरुमा मधेसी, थारु, आदिवासी जनजाति, महिला, मुस्लिम, सिल्पी, किसान, मजदुर, युवा, विद्यार्थी, आदि सबै सम्मिलित खबरदारी विरोध प्रदर्शन गर्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
स्थानीय निकाय पुनःसंरचना आयोग प्रतिवेदन अस्वीकार
मोर्चाले स्थानीय निकाय पुनःसंरचना आयोग प्रतिवेदन अस्वीकार गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘संघीय राज्य पुनःसंरचनाको मान्य सिद्धान्त अनुरुप संघीय राज्यमा स्थानीय तहहरु प्रदेश अन्तर्गत समन्वित रहने व्यवस्था अनिवार्य हुनुपर्ने तथ्यप्रति सबैको ध्यान आकर्षित गराउँदै आजको बैठक स्थानीय निकाय पुनःसंरचना आयोगले समान जनसंख्याको आधारलाई वेबास्ता गर्दै, जनसहभागिताविना र स्वयं नेपालको संविधानको धारा ५६ को (४) र (५) तथा धारा २९५को (३)द्धारा गाउँपालिका, नगरपालिका संरक्षिंत, स्वायत्त, विशेष क्षेत्रको निर्धारण गर्नुपर्ने निर्दिष्ट कार्यसमेत नगरी अपूरो र संविधान विपरित प्रतिवेदन तयार गरेको हुनाले यस्तो अपूर्ण प्रतिवेदन मधेसी मोर्चालाई अस्वीकार भएको स्पष्ट गर्दछौं ।’
संशोधनविनाको निर्वाचन आमान्य, द्वन्द्व बढाउने चेतावनी
मोर्चाले संविधान संशोधन नगरिकनै निर्वाचन घोषणा गरिए द्वन्द्व बढ्ने चेतावनी दिएको छ । ‘मधेसी, आदिवासी जनजाति लगायत सीमान्कृत वर्गको मुद्दा सम्बोधन गर्ने संविधान संशोधन नगरिकनै कुनै पनि तहको निर्वाचनले द्वन्द्वमात्र बढाउने र विद्यमान समस्याको समाधान नहुने हुनाले संसदमा दर्ता भएको संशोधन प्रस्ताव सहमतिको आधारमा परिमार्जन गरी पारित नगरिएसम्म कुनै पनि तहको निर्वाचन मोर्चालाई मान्य हुनेछैन्’– विज्ञप्तिमा उल्लेख छ ।
यस्ता छन् चार निर्णय













प्रतिक्रिया