४ मंसिर २०८३, शुक्रबार

‘एमालेले कांग्रेसलाई राष्ट्रवाद सिकाउने होइन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले एमालेको उग्रराष्ट्रवादले अन्त्यमा उसैलाई सिध्याउने चेतावनी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता डा.कोइरालाले एमालेलाई सहमति र सहकार्यको राजनीतिमा आउन आग्रह गरे । ‘उग्रराष्ट्रवादको कुरा गरेर एमालेलाई फाइदा हुँदैन । राष्ट्रवादको नाराले एमाले सकिन्छ’, उनले भने, ‘उग्रराष्ट्रवादको नाराले देशलाई पनि समस्यामा पार्छ ।’

संसद अबरोध गरेकोमा एमालेप्रति रुष्ट बनेका कांग्रेस नेता डा.कोइरालाले भने, ‘संविधान संशोधन प्रस्ताव फेल गराउनु छ भने संसदबाट फेल गराइदिए भइगयो नि ? किन सदनमा अबरोध गर्ने ?’

संसदीय प्रक्रियामा सबैको आवाज सुन्नुपर्ने उनको भनाइ थियो । एमालेलाई पनि विश्वासमा ल्याउनु पर्ने बताएका कांग्रेसका नेता डा.कोइरालाले भने, ‘एमालेविना संविधान कार्यान्वयन कठीन छ । एमाले पनि सहमतिमा आउनु पर्छ । छलफल गर्नुपर्छ । निकास दिनै पर्छ ।’

एमालेप्रति आक्रामक देखिएका नेता डा.कोइरालाले भने, ‘के हो राष्ट्रघात ? यही प्रस्ताव केपी ओलीले ल्याउँद हुने ! अरुले ल्याउँदा राष्ट्रघाती कसरी भयो ? ओलीजीले १७ कात्तिक ०७१ मा यही प्रस्तावमा सुशील कोइरालासँग सँगै हस्ताक्षर गरेका होइनन् ?’

‘कांग्रेसलाई एमालेले राष्ट्रवाद सिकाउने होइन’, उनले भने, ‘राष्ट्रवादको कुरा हामीलाई पनि थाहा छ ।’

सभामुखले दिनदिनै बैठक राखेर एमालेलाई दबाब दिने विषयमा सोधिएको प्रश्नमा कांग्रेस नेता डा.कोइरालाले भने, ‘बैठक राखे हुन्छ । सुवास नेम्वाङजीले पनि राखेकै हुन् । अहिले पनि राख्दा हुन्छ । नेताहरूलाई दबाब पर्छ ।’