काठमाडौं, १५ पुस । युवा संघ नेपालका नेताहरूमाथि निरन्तर आक्रमण सुरु भएको भन्दै दोषीको पहिचान गरी कारबाहीको माग गरेको छ ।
युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले विज्ञप्ति जारी गरेर युवा संघका नेताहरूमाथि आक्रमण गर्ने तथा गोली प्रहार गर्नेहरूलाई हदैसम्मको कारबाहीको माग गरेका हुन् ।
रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक हप्ता नवित्दै फेरि युवा संघका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएकोमा संघले आक्रोश जनाएको छ ।
बुढाथोकीलाई बिहीबार राति ९ बजे बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको छ । उनको घाँटीमा खुकुरी प्रहार भएको छ ।
युवा संघले एमाले नेतृत्वको आन्दोलनबाट त्रसित भएकाहरूले आन्दोलनलाई कमजोर बनाउन निरन्तर युवा संघका नेता–कार्यकर्तामाथि प्रहार गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।
‘यस्ता प्रहारले हाम्रो आन्दोलन कमजोर बन्दैन’, प्रवक्ता कटुवालले भनेका छन्, ‘सन्तोष बुढाथोकीको हत्या प्रयास गर्ने दोषीलाई सरकारले तत्काल खोजी नगरे युवा संघ नेपाल कडा आन्दोलन गर्ने चेतावी दिन्छ ।’











प्रतिक्रिया