१९ कार्तिक २०८३, बिहिबार

सुदूरपश्चिममा पुषे पन्ध्र पर्व मनाइँदै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, १५ पुस । आज पुष पन्ध्र, सुदूरपश्चिममा आज पुषे पन्ध्र पर्व धुमधामसँग मनाईंदै छ ।

हरेक वर्ष पौष १५ गतेका दिन मनाईने यस पर्वको अवसरमा गाउँ, टोल, छिमेकमा सबै जना एकै ठाउँमा जम्मा भई मिठा–मिठा बात (कहानी) हाल्ने प्रचलन रहेको छ ।

आजको दिन रातभर जाग्राम बस्दै १५ हात लामो मुढाको आगो ताप्दै आपसमा रमाईलो बाँड्दै रात काट्ने परम्परा रहि आएको छ ।

सुदूरपश्चिमका मानिसहरुले पुष १५ का दिन विशेषतः तरुल, सखरखण्ड, फर्सि, पिँडालु आदि उसिनेर खाने गर्दछन् ।

त्यस्तै यस दिन वनको पूजा समेत गर्ने प्रचलन छ । प्राय जसोले पुष १५ का दिन वनमै गएर सेल, पूरी, झँजे (चामलको पीठोबाट बन्ने परिकार) आदि मिष्ठान्न पक्वानहरु पकाएर खाने प्रचलन छ ।

यस पर्वमा यस क्षेत्रका मानिसहरुले वनजङ्गलमा काम समेत नगर्ने तथा वनजङ्गलमा काम गर्ने साधन बन्चरो, हँसीया, बनारो (घाँसपात, दाउरा बान्ने डोरी) आदिको पूजा पनि गर्ने गर्दछन् ।

ज्योतिषशास्त्र अनुसार डिसेम्बर २१, २२ वा २३ को दिनबाट उत्तरायण शुरु हुने भएता पनि यस क्षेत्रका बासिन्दाहरुले भने आजको दिनलाई उत्तरायण शुरु भएको मान्दै आएको बुढापाकाहरुको भनाई छ ।

पुषे पन्ध्र पर्वका लागि डोटीको सिलगढी, दिपायलका साथै अन्य विभिन्न जिल्लाका बजार क्षेत्रमा पनि तरुलको निकै कारोबार बढेको व्यापारीहरुले बताएका छन् भने ग्रामिण क्षेत्रका बासिन्दाहरु आफैले खनेर उसिनेर खाने गर्दछन् ।