काठमाडौं । सुगम संगीतबाट आफ्नो दमदार गायनयात्रा सुरुवात गरेका सुमन ‘सरगम’ले अलग पहिचान बनाउँदैछन् । सुरुवाती अवस्थामै नाम चलेका संगीतकार सुरेश अधिकारीको संगीत र विश्वकाजी राईको शब्दको ‘म कुनै हतारमा छैन…’ बोलको गीतबाट उनले गायन यात्रा थालेका हुन् ।
सुमन नेपाल टेलिभिजनको खोजी प्रतिभाको कार्यक्रमबाट गायनमा प्रवेश गरेको बताउँछन् । सुरुवाती दिनमा संगीतको खासै ज्ञान नलिएका सुमनले आफूलाई समय परिवेश अनुसार ढाल्दै लगेका छन् । उनले संगीतको औपचारिक ज्ञान चण्डी ढकालसँग लिइरहेका छन् । सुमनले ०५६ सालदेखि नै गाउन भने थालेका थिए । यो अवधिमा सुमनले धेरै आरोह अबरोह पार गरिसकेका छन् । अहिले पनि संघर्षरत छन् ।
चर्चित गायक उदित नारायण झाको ‘कहिले काहीँ मनका कुरा हामीलाई पनि भन, ढुङ्गा मुडा होइन होला हाम्रो पनि मन…’ भन्ने बोलको सदाबहार गीत उनले गाएका थिए । सोही गीतले उनलाई प्रतियोगितामा अगाडि बढ्न मद्दत पनि गरेको थियो । पुरानो पुस्ताको शास्त्रीय संगीत उनका लागि अहिले पनि मार्गदर्शन लाग्छ ।
सुमनले गाएको उदितको गीत सुनेपछि खोजी प्रतिभाको कार्यक्रममा जज बसेका गायक राजेश पायल राईले भनेका थिए, ‘सुमन तिम्रो गायन शैली राम्रो छ, केही सामान्य त्रुटिबाहेक सबै कुरा लेबलमा छ, अलिक मिहिनेत आवश्यक छ, तिम्रो गायनलाई विश्वले हेरिरहेको छ । तिम्रो गायकी स्टेजका लागि झन् उत्तम छ ।’ गायक राईको यो प्रतिक्रियाबाट हौसिएका सुमनले झन् मिहिनेत गरे ।
सुमनले संगीतकार सुरेश अधिकारी, बसन्त सापकोटा, बीबी अनुरागीलगायतसँग काम गरिसकेका छन् । ‘सिनियर संगीतकारसँग काम गर्दा मैले धेरै सिक्ने मौका पाएँ’, गायक सुमनले भने, ‘उहाँहरूकै सहयोग र आशीर्वादले म संगीतको क्षेत्रमा अगाडि बढ्दैछु ।’
सुमनले अहिले गायन मात्रै नभइ गीतमा संगीत पनि दिन थालेका छन् । ‘मेरै स्वर र संगीतमा गजल गाएको छु’, उनले भने, ‘म्युजिक भिडियो बनाउन बाँकी छ ।’ ‘गाजलु ती आँखाको नानी मन पर्यो, रिसाउँदा फकाउने बानी मन प¥यो’ बोलको यो गजलका शब्द रोहित रानाका हुन् ।
खोटाङ जिल्लाको दिक्तेल नगरपालिका वडा नम्बर १४ मा जन्मिएका सुमनले संगीत क्षेत्रमा आफ्नो पहिचान खोजी रहेका छन् । ‘म कुनै हतारमा छैन…’, ‘बाटो कुरेर…’, ‘गाजलु ती आँखाको नानी मन पर्यो…’, ‘तिम्रो कसम…’, ‘पल पल…’ लगायतका थुप्रै गीतमा सुमनले स्वर दिएका छन् । सुमनले जति पनि गीतमा स्वर दिएका छन्, अधिकांश सुगम संगीत हुन् ।
राग, ताल, लय, शब्द, संगीत छनौटमा रुचि राख्ने सुमनले भने, ‘गीत गाउने कला मात्रै भएर हुँदैन । गीतको भाव बुझ्न सकिएन भने जति राम्रो गीत भए पनि दर्शकको मन छुन सकिँदैन ।’ उनले आफूले स्वर दिने गीतको सबै कुराको पहिला शूक्ष्म अध्ययन गर्छन् । भन्छन्, ‘मेरो स्वरमा रहेका गीत तपाईले सुन्नुभयो भने आफै थाहा पाउनु हुन्छ ।’
नयाँ पुस्ताका गायक, गायिका, रचनाकार, संगीतकारहरू अधिकांश उनलाई मन पर्छन् । तर केही गायक, गायिकाले नेपाली गीत संगीतलाई गलत दिशातिर मोडेका हुन् कि भन्ने उनमा आशंका छ । ‘नयाँ पुस्ताको एउटा समूहबाट नेपाली गीतसंगीतलाई डर देख्छु’, गायक सुमनले भने, ‘नेपाली कला संस्कृतिको संरक्षण ‘म’बाट सुरुवात गर्नुपर्छ ।’















प्रतिक्रिया