– अमरराज पुन
रुकुम, १४ पुस । प्रधान न्यायाधीश सुशिला कार्कीले कुनै पनि अदालत हाट बजार नभई जनतालाई सरल रुपमा न्यायिक सेवा प्रवाह गर्ने एक सशक्त माध्यम भएको बताउनुभएको छ ।
सबैका लागि न्याय पाउने ठाउँ नै अदालत भएकाले प्रत्येक सेवाग्राहीलाई न्यायमा जति सक्यो छिटो सेवा दिनुपर्ने अदालतलको काम भएको उहाँको भनाई छ । जिल्ला अदालत रुकुमको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधान न्यायाधीश कार्कीले अदालतबाट जनतालाई दिईने सेवा जुनसुकै बेला पनि सरल र प्रभावकारी हुनुपर्ने भन्दै यस्तो बताउनुभएको हो ।
आम नागरीकलाई अदालत एक आस्था र फैसलाको केन्द्रबिन्दु भएकाले सिमान्कृत, महिला र न्यायमा पहँुच नपाएका सबै व्यक्तिलाई सरल व्यबहार मार्फत सेवा दिईनु अदालतको काम भएको प्रधान न्यायाधीश कार्कीले बताउनुभयो ।
उहाँका अनुसार कुनैपनि सेवाग्राहीलाई एक घण्टा भन्दा बढि अदालत परिसरमा कुराउनु नहुने र त्यो न्यायिक सेवा भित्र समेत नपर्ने उहाँको भनाई थियो । त्यस्तै नेपाल एक बहुभाषिक देश भएकाले जनतालाई न्यायिक सेवा प्रवाह गर्ने क्रममा भाषिक रुपमा थुप्रै समस्या देखिने हुँदा प्रत्येक अदालतमा दोभाषेको समेत व्यवस्था गर्न आग्रह गर्नुभएको छ । अदालतमा आउने मुद्धालाई जतिसक्यो छिटो फैसला गरी आम जनतालाई फाईदा हुने काम गर्नु नै अदालतको न्यायिक सेवाप्रति सेवाग्राहीको विश्वसनियता बढ्न सक्नु उहाँको भनाई थियो ।
यस्तै उहाँले अदालतलको सहयोग गर्नमा कानुनविद्हरुलाई पनि न्यायालयप्रति संगसंगै अघि बढ्न निर्देशन समेत दिनुभएको छ । न्यायिक सेवा मार्फत् सामाजिक रुपमा अघि बढ्न सके परिवर्तन भन्ने कुरा अवश्य हुन्छ भन्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । रुकुम जिल्लाको सन्र्दभमा जिल्ला अदालत रुकुममा विशेष गरेर महिला हिँसा र बहुविवाह लगायत अन्य मुद्धाहरु धेरैजसो अदालतमा मुद्धाको रुपमा आउने गरेकाले ती मुद्धाहरुलाई पनि छिटो फैसला गर्न रुकुम जिल्लाका जिल्ला न्यायाधिशलाई आग्रह समेत गर्नुभएको छ ।
नवनिर्मित जिल्ला अदालतको भवन उद्घाटन कार्यक्रममा सर्वोच्च अदालत, उच्च अदालत, पुनरावेदन अदालत तथा केही छिमेकी जिल्लाका जिल्ला न्यायाधिशहरुको समेत उपस्थिति रहेको थियो । जिल्ला अदालत रुकुमको नवनिर्मित भवन निर्माण गर्न करिब ३ वर्ष लागेको थियो ।












प्रतिक्रिया