– सीताराम चौधरी
कृष्णनगर(कपिलवस्तु), १४ पुस । कपिलवस्तुको सीमाक्षेत्र कृष्णनगरमा अज्ञात समूहले गोली चलाउँदा दुई प्रहरी घाइते भएका छन् । जिल्लाको कृष्णनगर ७, लक्ष्मीनगरस्थित ट्रान्सफर्मर लाइनमा ड्यूटीमा खटिएका नेपाल प्रहरीका हवल्दार मोहन श्रेष्ठ र कर्णबहादुर पुन घाइते भएका हुन् ।
दशगजा पारिबाट दिउँसो करिब सवा दुई बजे अज्ञात व्यक्तिले गोली चलाएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिनुभयो । घाइते दुबै इलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत प्रहरी हवल्दार हुन् । घाइतेमध्ये पुनको कुममा र श्रेष्ठको हातको औंलामा झर्रा लागेको बताइएको छ । एयर गन चलाएको हुँदा दुबैजना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुनै तस्करको समूहले गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ । घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुबै घाइते सामान्य अवस्थामा रहेको प्रहरीले बताएको छ ।
घटनालगत्तै घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक भोज जङ्ग शाह नेतृत्वको टोली कृष्णनगर पुगेको थियो । घटनाबारे खोजअनुसन्धान प्रक्रियालाई अघि बढाइएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।













प्रतिक्रिया