३ कार्तिक २०८३, मंगलबार

डडेल्धुरामा ३५ हजार मेट्रिक टन तरकारी उत्पादन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, १३ पुस । ताजा तरकारी उत्पादनको नमुना जिल्लाको रुपमा विकास हुदै गएको डडेल्धुरा जिल्लामा आर्थिक वर्ष २०७२/२०७३ मा मात्रै ३५ हजार ७ सय ६८ मेट्रिक टन तरकारी उत्पादन भएको छ ।

बर्षे तरकारी बाली ७ हजार ४ सय ४४ मेट्रिक टन, हिउदे तरकारी बाली ९हजार ३ सय ४० मेट्रिक टन, हिउदे आलु र बर्षे आलु गरि १४ हजार ४७ मेट्रिक टन र मसला बाली ४ हजार ९ सय ४१ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुरामा तथ्याङक रहेको छ । कुल उत्पादन तरकारी मध्ये २७ हजार ८ सय ८४ मेट्रिक टन जिल्लाभित्रै उपभोग भएको र बाकी तरकारीहरु जिल्ला बाहिर निर्यात गरिएको छ ।
आर्थिक वर्ष २०७२/२०७३ मा मात्रै एक अर्व ९ करोड ४३ लाख ३८ हजार ८५ रुपैया बराबरको तरकारी उत्पादन भएको र २२ करोड ७७ लाख १३ हजार ९ सय २० रुपैया बराबरको तरकारी निर्यात गरिएको बागवानी विकास अधिकृत सुदिप देवकोटाले बताउनु भयो ।

आलुमात्रै ६ करोड ७० लाख २१ हजार ५० रुपैया बराबरको अन्य जिल्लाहरुमा निर्यात गरिएको बागवानी विकास अधिकृत देवकोटाले बताउनुभयो ।

डडेल्धुरामा उत्पादन भएको तरकारी कैलाली,कञ्चनपुर,बैतडी,डोटी, बझाङ र अछाम लगायतका जिल्लाहरुमा निर्यात हुने भएकोले डडेल्धुरा जिल्लालाई तरकारी उत्पादनको हव जिल्लाका रुपमा विकास गर्न सकिने वागवानी अधिकृतले बताउनुभयो ।

उहाँले भन्नुभयो– “डडेल्धुरा जिल्लाबाट उत्पादन हुने तरकारी विक्रि वितरणका लागी बजारको कुनै समस्या नभएको भए पनि कृषकहरुले बारीबाटै तरकारी विक्रि वितरण गर्ने परम्परा भएकोले केही बजारको समस्या जस्तो देखिएको मात्रै हो र विभिन्न ठाउमा निर्माण गरिएका तरकारी संकलन केन्द्र सम्ममात्रै कृषकले तरकारी पुरयाउन सके बजारको समस्या छैन् ।”

डडेल्धुरा जिल्लामा उत्पादन हुने गरेका विभिन्न तरकारीहरुको माग अन्य जिल्लाहरुबाट बढ्दै आएको भए माग अनुसारको तरकारी निर्यात गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अमरगढी नगरपालिका १ बण्डमा रहेको सहश्रलिङ्ग ताजा तरकारी महिला कृषक समुहले निर्माण गरेको तरकारी संकलन केन्द्रले दैनिक ४५ देखी ५० क्विन्टल तरकारी विक्रि वितरण तथा निर्यात गरिरहेको संकलन केन्द्रका प्रमुख ईन्द्र बहादुर ऐरले बताएका छन् ।

उनले भने – “२०७३ बैशाख देखी मंसिर महिना सम्म ५० लाख रुपैया बराबरको तरकारी महेन्द्रनगर,धनगढी,टिकापुर,अत्तरिया, दिपायल,सिलगढी, अछाम,साझेबगरसम्म निर्यात गरिएको छ ।”

तरकारी संकलन केन्द्र नहुदा उत्पादन भएको तरकारी विक्रिवितरणका लागी समस्या भएको र ग्रामीण वातावरण विकास केन्द्र,जिल्ला कृषि विकास कार्यालय, कृषि विकास बैक र समुहका सदस्यहरुको स्वलगानी गरि करिव २० लाख बराबरको खर्चमा तरकारी संकलन केन्द्र निर्माण भए देखि तरकारी विक्रि वितरण गर्नमा सजिलो भएको संकलन केन्द्रका प्रमुख ऐरले बताए ।