काठमाडौं, १२ पुस । नेपाली सेनालाई आफ्नो सेना मातहत संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटाउन प्रस्ताव गरेको भारतले नेपालमा अर्काे चलखेल सुरु गरेको छ ।
इतिहासमै पहिलोपटक चिनियाँ सेनाले नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरिरहेका बेला भारतले यसलाई सफल हुन नदिन विभिन्न कुटनीतिक च्यानलबाट लबिङ थालेको हो ।
यसको झल्को भारतको चर्चित पत्रिका टाइम्स अफ इण्डियाको समाचारले पनि दिएको छ । मंगलबार प्रकाशित ‘नेपाल–चाइना मिलिटरी ड्रिल्स वरिज् इण्डिया’ शीर्षकको समाचारमा दाहाललाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने पूर्ब प्रतिबद्धता स्मरणसमेत गराइएको छ ।
र, भारतीय अधिकारीले नेपाल–भारत सम्बन्ध सुधार्ने प्रयास भइरहेका बेला नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको प्रस्तावले भारतलाई असहज बनाएको टिप्पणी गरेको उल्लेख छ । यसको अर्थ चीनको प्रस्ताव नेपालले अस्वीकार गरोस भन्ने भारतको चाहना हो भन्ने बुझ्न सकिन्छ ।
समाचारमा भनिएको छ– ‘प्रचण्ड सरकारको पालामा नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको थालनी गर्ने भारतीय चाहना भइरहेका बेला नेपालको यो निर्णयले भारतलाई असजिलो बनाएको छ ।’
यता चीनबाट आएको प्रस्ताव र नेपालको भुमिकाबारे भारतीय अधिकारीले नयाँदिल्लीमा नेपाली राजदूत दीपकुमार उपाध्यायसँग चासो राखेको बताइन्छ । उनीहरुले राजदूतमार्फत प्रधानमन्त्री प्रचण्डलाई समेत चिनियाँ प्रस्ताव रोक्नेतर्फ भुमिका खेल्न दबाब दिइरहेको र केही प्रतिनिधिलाई नेपालमा खटाएको समेत बताइन्छ ।
चिनियाँ सेनाको प्रस्ताव नेपाली सेनाले स्वीकार गरिसकेको छ । तर, सरकारबाट भने अहिलेसम्म कुनै धारणा बाहिर आएको छैन् ।













प्रतिक्रिया