१९ कार्तिक २०८३, बिहिबार

जब प्रधानसेनापति क्षत्रीले पूर्वप्रधानसेनापति गौरव शम्शेरलाई सम्मान गरे…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । सैनिक आवासीय महाविद्यालय भक्तपुरको ३९ औं बार्षिकोत्सवमा अनौठो दृश्य देखियो । जहाँ प्रमुख अतिथि रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्ना सिनियर अवकाशप्राप्त निर्वतमान प्रधानसेनापति गौरव शम्शेर जबरालाई सम्मान पत्र प्रदान गरे ।

क्षत्रीले कार्यक्रमको प्रमुख आतिथिको हैसियतमा सैनिक आवासीय महाबिद्यालयमा पुर्याएको योगदानको कदर गर्दै जबरालाई महाविद्यालयको तर्फबाट सम्मान पत्र प्रदान गरेका हुन् । उक्त दृश्य निकै लोभलाग्दो थियो । अभिभावकहरुले ताली बजाएका थिए ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधान सेनापति क्षत्रीले उक्त बिद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार प्रदान गनुर्का साथै विद्यालयको मुखपत्र ‘सल्लाघारी’ को विमोचन समेत गरेका थिए ।

विस २०३५ सालमा मकवानपुर जिल्लाको भिमफेदीमा स्थापना भएको उक्त महाविद्यालय २०४४ सालदेखि भक्तपुर जिल्लास्थित सल्लाघारीमा सञ्चालन हुँदै आईरहेको छ । महाविद्यालयलाई क्रमशः स्तरोन्नती र विस्तार गर्दै लैजाने नेपाली सेनाको नीति अनुरुप उक्त महाविद्यालयमा २०६९ सालबाट बी.एस्सी. तथा २०७० सालबाट स्नातक तहमा बी.बी.ए. कार्यक्रम सञ्चालन गरिदै आएको छ ।

नेपाली सेनाको सैनिक कल्याणकारी कोषले देशभर विभिन्न स्थानमा महाविद्यालय–७, विद्यालय– १ तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत मेडिकल कलेज– १ र नर्सिङ्ग कलेज– १ मुनाफा रहित रुपमा सञ्चालन गरी हाल सैनिक तर्फ ५ हजार ८ सय १३ जना, गैह्र सैनिक तर्फका ३ हजार १ सय ५१ जना र विदेशी ६ जना गरी जम्मा ८ हजार ९ सय ७० जना छात्र–छात्राहरुलाई शिक्षाको अवसर उपलब्ध गराउँदै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, त्रिभुवन बिश्वबिद्यालयका पदाधिकारीहरु तथा प्राध्यापकहरु, अभिभावकवर्ग, शिक्षक/शिक्षिका एवं कर्मचारी लगायत बिद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

नेपाली सेनाको कल्याणकारी कोषसँग रहेको सीमित श्रोत र साधनलाई परिचालन गरी नेपाली सेनाले विद्यालय तथा कलेजहरु सञ्चालन गर्दै सैनिक एवं गैह्र सैनिकका सन्ततीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेबाट देशको समग्र शिक्षा क्षेत्रमा योगदान पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।