काठमाडौं, १२ पुस । संविधान संशोधन प्रस्तावले मंसिर १५ देखि अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसद मंगलबार सूचारु भएको छ ।
सरकारले मंसिर १४ गते राति संशोधन प्रस्ताव क्याविनेटबाट पास गराई संसदमा दर्ता गराएको थियो । त्यसयता प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित ९ विपक्षी दलले संशोधन प्रस्तावको विरोधमा संसद बैठकमा लगातार अवरोध गर्दै आएका छन् ।
तर, मंगलबार एमालेसहितका विपक्षी दलहरुले संसद बैठक चल्न दिए । संसद चल्न दिनुको कारण थियो पूर्वसांसद बुद्धरत्न मानन्धरको निधनमा शोक प्रकट गर्ने कार्यतालिका ।
संसदको कार्यतालिकामा शोक प्रस्ताव पारित गर्ने उल्लेख भएपछि बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने परम्परा छ । जसअनुसार पूर्व सांसद मानन्धरप्रति शोक प्रकट गर्ने र अन्य कार्यसूची अगाडि नबढ्ने भएपछि एमालेसहितका विपक्षी दलहरुले एक दिनका लागि संसदमा अवरोध नगरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
बैठकमा सांसदहरुले आ-आफ्नो आसनबाट उठी मानन्धरप्रति एकमिनेट मौनधारण गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्तसमेत गरेका थिए ।
यसरी गरियो शोक प्रस्ताव पारित
बैठकमा नेपाः राष्ट्रिय पार्टीका पूर्वसांसद बुद्धरत्न मानन्धर (बुद्ध सायमी)को निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।
नेपालभाषाका कविसमेत रहको मानन्धरको यही पुस १० गते ७३ वर्षको उमेरमा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा उनी काठमाडौँ जिल्लाबाट सो पार्टीका तर्फबाट सभासद् बनेका थिए । उनी उच्च रक्तचाप र मुटुरोगबाट पीडित थिए ।
सो शोक प्रस्तावमा ‘व्यवस्थापिका संसद्को यो बैठक क्रान्तिकारी कविका रुपमा परिचित नेपाः राष्ट्रिय पार्टीका उपाध्यक्ष एवम् उक्त पार्टीका तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडाँै जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित मानन्धरको ७३ वर्षको उमेरमा उच्च रक्तचाप र मुटुरोगको उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा २०७३ पुस १० गते अपराह्न ४ बजे निधन भएकामा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’ भनिएको छ ।
संसदको अर्काे बैठक भोलि बुधबार दिउँसो ३ बजे बस्नेछ ।












प्रतिक्रिया