३ कार्तिक २०८३, मंगलबार

सडक निर्माणमा साढे १३ लाख भन्दा बढी खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भूमिराज जोशी

दिपायल, १२ पुस । जिल्ला सदरमुकाम सिलगढी छाउनी स्थित डोटी बहुमुखी क्याम्पस डोटीको छात्राबास भवनमा रङ्गरोदन गर्न र पक्की सडकबाट करिब पचास मिटर कच्ची सडक निर्माण गर्न साढे १३ लाख भन्दा बढी रकम खर्च भएको एक तथ्याङ्कले देखाएको छ ।

जिल्ला बिकास समिति डोटी र दिपायल सिलगढी नगरपालिका डोटीको सहयोगमा प्राप्त भएको रकम बिभिन्न शीर्षकमा खर्च भएको सामाजिक परीक्षण कार्यक्रममा डोटी बहुमुखी क्याम्पसको तथ्याङ्कले देखाएको छ । जिल्ला बिकास समितिबाट प्राप्त भएको सात लाख र दिपायल सिलगढी नगरपालिकाबाट प्राप्त भएको साढे तीन लाख बिभिन्न शीर्षमा खर्च भएको क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले जानकारी दिए ।

क्याम्पसको कार्यसमितिबाट सम्पन्न भएको इस्टमेट बमोजिम गुणस्तरीय रुपमा सम्पन्न भएको बताउदै क्याम्पस प्रमुख कठायतले जिल्ला बिकास समितिबाट प्राप्त भएको रकमबाट छात्रबास भबनसम्म जाने सडक बाटो, रङ्गरोदन र छतको जिना समेत बनाएको बताए । जसमा माटो कटिङ्ग गर्न स्काइभेटरको ४० घण्टाको एक लाख ६० हजार, जेबी सिमेन्ट एक सय पचास कठ्ठाको एक लाख ३५ हजार, रङ्गिन जस्ता पात १२ मिटर तीस हजार, लक पाइप तीन मिटरको १० हजार पाँच सय, इटाँ २७ सय पिसको ४८ हजार छ सय खर्च भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै, ढुङ्गा १० ट्रिप(ट्याक्टर)को तीस हजार, बालुवा दुई ट्रिपको छ हजार, गिट्टी एक ट्रिपको तीन हजार, सुलोसन पेन्ट आठ डिब्बाको १९ हजार छ सय, इनामेल पेन्ट चार डिब्बाको नौ हजार नौ सय बीस, मिस्त्री लेबर खर्च तीन लाख ६६ हजार सात सय पचास, भ्याट १३ प्रतिशतको २९ हजार एक सय तेत्तिस र रङ्गरोदन मिस्त्री खर्च २७ हजार गरी आठ लाख ७५ हजार पाँच सय तीन खर्च भएको देखाएको छ । उक्त रकम जिल्ला बिकास समितिबाटको सात लाख बाहेकको क्याम्पसको खाताबाट खर्च भएको क्याम्पस प्रमुख कठायतले बताए ।

दिपायल सिलगढी नगरपालिकाबाट प्राप्त भएको रकम तीन लाख पचास हजारमा छात्राबास भवनको भित्ता र माटो कटिङ्गमा खर्च भएको देखाएको छ । जसमा ढुङ्गा ७ ट्रिप ठूलो गाडीको ५६ हजार, बालुवा २ ट्रिपको १६ हजार, सिमेन्ट ८० कठ्ठाको ७२ हजार, मजदुर खर्च २४ हजार, लोड अनलोड रोयल्टी १४ हजार आठ सय खर्च भएको देखाएको छ ।

यस्तै, भ्याट १३ प्रतिशत नौ हजार तीन सय साठी र माटो कटिङ्ग २० घण्टा ८० हजार गरी चार लाख ८७ हजार तीन सय साठी रुपैंयाँ खर्च भएको डोटी बहुमुखी क्याम्पसको तथ्याङ्कले देखाएको छ । नगरपालिकाले दिएको तीन लाख पचास हजार भन्दा बाहेकको रकम क्याम्पसको खाताबाट खर्च गरिएको क्याम्पस प्रमुख कठायतले बताए । क्याम्पसको खाताबाट जम्मा तीन लाख १२ हजार आठ सय ६३ रकम खर्च भएको देखिएको छ ।