नयाँदिल्ली, १२ पुस । नेपालमा पछिल्लो समय बढ्दो चिनियाँ प्रभावप्रति भारतीय युवा नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।
दुई देशको सम्बन्ध सुदृढिकरणका लागि दिल्लीस्थित नेपाली दूताबासमा आयोजित नेपाल र भारतका विभिन्न राजनीतिक दलका युवा नेताहरुबीचको छलफलमा चीनका कारण नेपाल–भारत सम्बन्ध विग्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
नेपाली युवा नेताहरु कांग्रेस निकट नेविसंघका नैनसिंह महर, एमाले निकट अनेरास्ववियुकी नविना लामा, नयाँ शक्ति निकट विद्यार्थी संगठनकी मानूषी भट्टराई लगायतलाई दिल्ली बोलाएर भारतीय सत्तारुढ र प्रतिपक्षी दलका युवा नेताहरुले चिनियाँ प्रभावबारे गुनासो पोखेका हुन् ।
भारतको विपक्षी दल काँग्रेस आईका युवा नेता नदीम जावेदले भारतले नेपालमा केही सहयोग गर्न चाहेपनि चीनले रोक्ने गरेको आरोप लगाए । ‘नेपालमा कुनै समस्या आइपर्दा सहयोगका लागि सबैभन्दा पहिला भारत नै अगाडी सर्न खोज्छ । तर, चिनियाँ प्रभावले रोकिदै आएको छ । यस्तो गतिविधि रोक्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा सत्तारुढ भारतीय जनता पार्टीका एक युवा नेताले गत वर्षको भूकम्पको समयमा भारतले तत्काल सहयोग गर्न खोजेपनि चीनले प्रभावमा सहयोग सामाग्री समयमा लान नदिएको आरोप लगाए ।
कार्यक्रममा नेपाल र भारतको ऐतिहासिक सम्वन्धमा अर्को कुनै तेस्रो पक्ष आएर त्यसलाई विगार्न नहुनेमा भारतीय युवा नेताहरुको जोड थियो ।
जवाफमा नेपाली युवा नेताहरुले सम्बन्ध सुधारका लागि नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप बन्द हुनुपर्ने बताएका थिए ।












प्रतिक्रिया