काठमाडौं, १२ पुस । चर्को दबाब खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज स्थानीय तह पुनःसंरचना आयोगका संयोजक र सदस्यहरूसँग परामर्श गर्दैछन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे दश बजे दाहालले आयोगको प्रतिवेदन र तयारीका विषयमा छलफल गर्ने निजी सचिवालयले जनाएको छ ।
आयोगले आफ्नो प्रतिवेदन तयारी पारिसकेको जनाएको छ । प्रतिवेदन बुझ्न प्रधानमन्त्रीले समय नदिएको भन्दै आयोगका संयोजक र सदस्यहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
आयोगले आफ्नो प्रतिवेदन बुझ्न आग्रह गर्दै प्रधानमन्त्री कार्यालयमा पत्र समेत दर्ता गराएको थियो ।
प्रधानमन्त्री दाहाल निकट मानिने नेताहरूले सीमाङ्कनको विषय संसदमा प्रवेश पाएको अवस्थामा कसरी स्थानीय तहको प्रतिवेदन कसरी बुझ्ने भनेर प्रश्न राख्दै आएका छन् ।
मधेसी मोर्चाले पनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन र तयारीप्रति असन्तुष्टि जनाउँदै आएको छ । संविधान संशोधन गरेर सीमाङ्कनको विषय टुङ्गो लगाएपछि मात्रै स्थानीय तहको सीमाङ्कन गर्नुपर्ने जनाउँदै आएको छ ।











प्रतिक्रिया