
काठमाडौँ, १० पुस । आगामी पुस २२ गते काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गर्न लागेको नेकपा एमालेले राजधानीका सडकका भित्तामा पोस्टर र प्रचार सामाग्री नलेख्ने भएको छ ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रचार कार्यमा नयाँ प्रविधिलाई उपयोग गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने – ‘यो पटक हामी काठमाडौँका पर्खालका भित्ताहरु फोहोर गर्दैनौँ । सामाजिक सञ्जालका भित्ताहरु भने कलरफुल बनाउँछौँ ।’
एमाले सचिव भट्टराईले सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, युटुबका भित्ताहरुमा डिजिटल ब्यानरहरुहरु पोष्ट गर्न आग्रह गरे । पुरानो प्रचारशैलीको सट्टा नयाँ शैलीमा जाँदा जनतामा राम्रो सन्देश जाने उनको धारणा थियो ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पुस २२ गतेको प्रदर्शन ‘मिनी जनमतसंग्रह’ जस्तै भएको बताए । एमालेले उठाएको मागमा जनताको समर्थन रहेको सन्देश दिने गरी जनसमुदायको व्यापक उपस्थिति गराउन सचिव ज्ञवालीले निर्देशन दिए ।
यसैगरी, मातहतका कमिटीलाई निर्देशन दिँदै एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रचार कार्यलाई आकर्षक र व्यवस्थित बनाउनुपर्ने बताए । कार्यक्रममा नेकपा एमालेका कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठ तथा प्रचार विभागका सचिव विष्णु रिजालले पुस २२ गतेको शक्ति प्रदर्शनमा हाइटेक शैली अपनाउन अनुरोध गरे ।












प्रतिक्रिया