काठमाडौं, ८ पुस । वरिष्ठ गायक मधुवावु थापाको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।
गायक थापालाई जेठा छोरा अनुप थापाले दागवत्ती दिएका हुन् । उल्लेख्य गायक, गायिका, संगीतकार, कलाकार, रचनाकार र दङ्गालीहरूको सहभागिता रहेको श्रद्धाञ्जलि कार्यक्रममा कुनै पनि मन्त्री र सांसदहरूको उपस्थिति थिएन ।
दाङ जिल्ला घर भएका सिचाइमन्त्री दीपक गिरी, सांसदहरू अनिता देवकोटा, राजु खनाल, रेखा शर्मा, युवराज ज्ञवालीसहितका सांसदहरू कोही पनि श्रद्धाञ्जलि कार्यक्रममा उपस्थित भएनन् । दाङबाट विभिन्न दलका १८ जना सांसदहरूले प्रतिनिधित्व गर्छन् ।
रेडियो नेपालका जागिरे गायक थापालाई सरकारका तर्फबाट कुनै पनि सम्मान दिइएन ।
रापती समाज र संगीतकार संघको पहिलमा गायक थापालाई काठमाडौंको कमलादीमा अन्तिम श्रद्धाञ्जलि दिइएको थियो । गायक थापाको सम्मानमा कमलादीमा एउटा गीत सामूहिक रुपमा गाइएको थियो ।
गायक थापालाई नेपाल वार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, महानगरीय ट्राफिक प्रहरी प्रमुख तथा डिआइजी प्रकाश अर्याल, अधिवक्ता डा.भीमार्जुन आचार्य, वरिष्ठ पत्रकार भगिरथ योगी, गायक रविन शर्मा, संगीतकार लक्ष्मण शेष, सन्तोष श्रेष्ठसहितका उल्लेख्य अग्रजले पनि श्रद्धाञ्जलि दिएका थिए ।
श्रद्धाञ्जलिपछि कमलादीदेखि पशुपति आर्यघाटसम्म शवयात्रा निकालिएको थियो । शव यात्रामा गायक, गायिका, संगीतकार र रचनाकारहरूका साथै आफन्तको सहभागता रहेको थियो ।















प्रतिक्रिया