काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले संविधान संशोधन प्रस्ताव देशभित्रको एजेण्डा नभएको टिप्पणी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव आचार्यले भने, ‘सरकारले ल्याएको यो संविधान संशोधन प्रस्ताव देशभित्रको एजेण्डा होईन, यो जनताको पनि एजेण्डा होईन र राष्ट्रको पनि एजेण्डा होईन, यो त बरु चुनाव बिथोल्न र संविधानलाई धरापमा पार्नको लागि असंवैधानिक ढंगबाट ल्याईएको छ, यो कुनै हालतमा हामी मान्दैनौं ।’
उनले प्रदेशको सीमांकन हेरफेर अहिलेको संविधान अनुसार गर्न नमिल्ने बताउँदै यो असंवैधानिक संशोधन प्रस्ताव कुनै हालतमा संसदको प्रक्रियामा अघि बढ्न नदिने चेतावनी दिए । आचार्यले संविधानको स्विकार्यता बढाउने बहानामा सरकारले संशोधन प्रस्ताव ल्याएको भनेपनि संविधान निर्माण गर्न र जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको संसदको दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर ल्याईएको आरोप लगाए ।
उनले जनताको भावना विपरित प्रस्ताव आएको गुनासो पोख्दै भने, ‘सरकारले यस्तो प्रस्ताव आउँदैछ भनेर एमालेसँग एकपटक पनि छलफल तथा वार्ता गरेन, त्यहाँका जनताको माग र भावना विपरित यो प्रस्ताव आएको छ ।’ उनले सत्तारुढ दलका नेताहरुले प्याकेजमै सहमति गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएपनि यसबारेमा आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पारे ।
उनले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिए जारी संसद अवरुद्ध पनि हट्ने विश्वास व्यक्त गरे । आचार्यले आफ्नो दल संविधान संशोधनको विरोधी नभएको उल्लेख गर्दै सबैलाई मान्य हुनेगरि संवैधानिक ढंगबाट प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए ।













प्रतिक्रिया