२ कार्तिक २०८३, सोमबार

‘आखिर एकदिन मर्नु छ, किन बाँच्दिनौँ हाँसेर ?’

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘ऐ चम्पा…बोलना हौ…चम्पा…बोलन न बोल चम्पा,
किन बोल्दिनौँ हाँसेर, आखिर एक दिन मर्नुछ,
साँच्चै मर्नुछ, किन बाँच्दिनौँ नाँचेर,
तिमी फूले पो भमरा झुल्झ, सुवास उड्छ त्यसै–त्यसै,
सुन्दरतामा मन्त्रमुग्ध भइ दुनियाँ भुल्छ त्यसै–त्यसै,
समय पल–पल डुब्दैछ किन राख्दछौ साँचेर,
वर्षौंदेखिको साँची राखेको मुटुभरिको सपना छ,
छाती खोलेरै भन्छु तिमीलाई बेहुली बनाउने चाहना छ,
जन्ती लिइ आउनेछु, बस फूलमाला गाँसेर,
आखिर एकदिन मर्नु छ, किन बाँच्दिनौँ हाँसेर ?

यीमाथिका हरफ गायक एवम् संगीतकार भुपु पाण्डेले गाएको गीतका हुन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट संगीतमा स्नाकोत्तर गरेका पाण्डेले ०७२ सालमा यो गीतलाई गाएका हुन् । ‘मायावी’ एल्वममा रहेको यो गीतले युवापुस्ताको मन जित्न धेरै सफल पनि रह्यो । त्यसको प्रमाण यूट्बमा गएर हेर्न सकिन्छ ।

पाण्डेको घरपरिवारसँग संगीतको टाढाको कुनै नाता पनि छैन । घरपरिवारमा संगीत क्षेत्रमा कोही लागेका छैनन् । ‘बाबुआमाको चाहना अरु नै थियो’, उनले भने, ‘मेरो चाहना संगीतको अध्ययन गरेर केही गरुँ ।’ प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट संगीत अध्ययन सुरु गरेका पाण्डेले कहिल्यै दायाँबायाँ हेरेनन् । सधैँ संगीतको अध्ययन र साधनमा ध्यान दिए ।

पाण्डे गायक र संगीतकार मात्रै होइनन् । उनले ड्रम सेट असाध्यै राम्रो बजाउँछन् । राजधानीको बसाइलाई ड्रम प्यडको कमाइले सहयोग पनि पु¥याइ रहेको छ । ‘म ड्रम प्यड राम्रो बजाउन सक्छु’, उनले भने, ‘ड्रम प्यड बजाउन थुप्रै जिल्लामा पुगेको छु ।’ सांगीतिक कार्यक्रमहरूमा पाण्डेलाई गायनका साथै ड्रम प्यड बजाउनका लागि पनि बोलाइने गरेको छ ।

०६६ सालदेखि संगीतमा होमिएका गायक पाण्डेले पहिलो गीत सरस्वती बन्दनाको भजनबाट सुरुवात गरेका हुन् । त्यसपछि गायक पाण्डेले ०७० सालमा भजन गीतहरू राखेर ‘मोक्षपथ’ ल्याए । ‘मोक्षपथ’मा उनका सात वटा भजन समावेश छन् ।

०७२ सालमा भने पाण्डेले युवापुस्ताको रोजाइमा ‘मायावी’ एल्वम ल्याए । ‘मायावी’मा रहेका गीतगजलहरूले उनलाई चिनाउन थाल्यो । ‘मोक्षपथ’ र ‘मायावी’ पाण्डेका एकल गायनका एल्वम हुन् । जति पनि गीतमा स्वर र संगीत दिएका छन् पाण्डेको सबैले प्रशंसा गरेका छन् ।

तपाईलाई कस्तो प्रकारका गीत गाउन मन पर्छ भन्ने प्रश्नमा गायक पाण्डे भन्छन्, ‘दर्शक स्रोताले कस्तो प्रकारका गीत संगीत मनपराउँछन् त्यसैलाई नै गाउन मन पर्छ’, उनले भने, ‘मैले संगीत अध्ययन गरेर आएकाले सकेसम्म सुर–ताल गीतसंगीतमा दिन पाए हुन्थ्यो भन्ने लाग्छ ।’ हाईस्केलमा सहज रुपमा गाउने क्षमता राख्ने गायक पाण्डेले भरखरै ‘प्रेम रक्षक’ फिल्मका लागि पञ्चेबाजाको फ्यूजन रहेको गीतमा पनि स्वर दिएका छन् ।

पछिल्लो समय पाण्डेले आफ्नै स्वर र कम्पोजमा ‘एक्सेप्ट गर…’ बोलको गीत पनि रेकर्ड गराएका छन् । यो गीतमा पाण्डेलाई गायिका संगीता थापाले साथ दिएकी छिन् । शब्द एकेन्द्र खड्काका हुन् ।

अहिले बजारमा आएका गीतसंगीत सैद्धान्तिक रुपमा ठीक छन् ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘धेरै गीत राम्रा छन् । धेरै जसो गीतले संगीतको मर्मलाई फलो पनि गरेका छन् । तर केही गीतले भने खासै ध्यान दिएको पाइँदैन ।’ तपाईले के गर्नु हुन्छ नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म सकेसम्म संगीतका आधारभुत विषयलाई ध्यान दिने पक्षमा छु । तर दर्शक स्रोताले कस्तो मन पराउँछन् त्यसलाई पनि मैरो ध्यान जान जुरुरी छ ।’

अलिहेका गीतहरू संगीतको सिद्धान्तमा भन्दा पनि दर्शक स्रोतालाई कस्तो मनपर्छ सोही अनुसार आएको अनुभूति आफूले गरेको गायक पाण्डेको भनाइ छ । शास्त्रीय संगीतलाई आधार मानेर अहिले सीमित गीत आएको भन्न पनि उनी छुटाउँदैनन् । शास्त्रीय संगीतमा मिहिनेत र खर्च अलि धेरै हुने भएकाले पनि त्यसलाई ध्यान नदिइएको हो कि भन्ने उनको भनाइ छ ।

‘अहिलेका गायक गायिकामा शिव परियार, राज सिग्देल, संगीता राणा प्रधान, दिनेश गौतम, अञ्जु पन्तले शास्त्रीय संगीतलाई राम्रोसँग चिनका छन्’, उनले भने, ‘मलाई शिव परियारको गायन शैली र स्वर मन पर्छ । म उहाँको फ्यान हुँ ।’ पुरानामा भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, योगेश बैद्य, नारायणगोपाल लगायतको पनि उनी उत्तिकै प्रशंसक हुन् ।

प्रस्तुतिः विमल योगी

गायक एवम् संगीतकार भुपु पाण्डेको चर्चित गीत ‘चम्पा’