काठमाडौं, ६ पुस । स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी श्रीमती ममताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
नेपाल पत्रकार महासंघको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको एक टोलीले उनी उपचाररत काठमाडौंको भेनस अस्पतालमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्ट, कोषाध्यक्ष सूर्यमणि गौतमलगायतको उपस्थिति रहेको थियो । महासंघका अध्यक्ष डा. विष्टले श्रीमती ममता (बोहरा) ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेपछि अब उनको उपचारका लागि सरकारी सहुलियत तथा सुविधा पाउन सहज हुने विश्वास व्यक्त गरे ।
श्रीमती ममता दुवै मृर्गौला बिग्रेका कारण केही महिनादेखि डाइलोसिस गराइरहेकी छिन् । पत्रकार बोहराको गत (मंसिर) १० गते निधन भएको थियो ।
सहयोग संकलन जारी
यसैबीच, महासंघले श्रीमती ममताको उपचारका लागि देशभित्र र बाहिरबाट सहयोग संकलन जारी रहेको जनाएको छ ।
महासंघको केन्द्रीय समिति तथा सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले उनको उपचारमा सहयोगका लागि आह्वान गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग प्रदान भइरहेको छ ।
महासंघका सुदूरपश्चिम क्षेत्रीय संयोजक एवं केन्द्रीय सदस्य प्रकाशबिक्रम शाहका अनुसार हालसम्म संकलन भएको तीन लाख रुपैयाँ संकलन गरिसकेको छ ।
त्यस्तै, महासंघको कञ्चनपुर शाखाबाट डेढ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै क्यानडामा रहेका नेपालीहरूबाट एक लाख ६० हजार रुपैयाँ संकलन गरेर पठाइएको छ ।













प्रतिक्रिया