२ कार्तिक २०८३, सोमबार

सांस्कृतिक संस्थानद्धारा गीतिनाटक मुनामदन हङकङमा प्रस्तुत गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांस्कृतिक संस्थानले यहि पुस १० र १२ गते हङकङमा गीतिनाटक मुनामदन प्रस्तुत गर्ने भएको छ ।

महाकवी लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित अत्यन्तै लोकप्रिय गीतिनाटक मुनामदन कोकिल गुरुङको निर्देशनमा संस्थानले २०३२/३३ सालतिर तयार पारेको हो ।

तत्कालिन समयमा सवैभन्दा धेरैपटक मञ्चन गरिएको यस नाटकमा स्वरसम्राट नारायण गोपाल, तारादेवी, कमला श्रेष्ठ, माणिकरत्न तुलाधर, नविनकिशोर राई, गणेश रसिक, कमल क्षेत्री, ईन्द्र नारायण श्रेष्ठ तथा भुवन चन्द लगायतको स्वर रहेको छ भने रेकर्डिङ्ग श्याम तामाङ्गले संस्थानमै लाइभ रेकर्ड गर्नु भएको हो । उक्त नाटकको संगीत वरिष्ठ संगीतकार नेपाल कलाभुषण चन्द्रराज शर्माले गर्नुभएको हो ।

संस्थानले यसअघि धेरैपटक मञ्चन गरिसकेको यो नाटक पहिलो पटक हङकङमा प्रदर्शन हुन लागिरहेको छ । कलाकार टोलीको नेतृत्व संस्थानका संचालक समितिका अध्यक्ष श्री उद्योग राईले गर्नुभएको छ भने नाटकको व्यवस्थापन, संयोजन तथा निर्देशन वरिष्ठ नाटक प्रवन्धक श्री प्रभाकरदेव शर्माले गर्नु भएको छ । उक्त नाटक टोलीमा संस्थानमा कार्यरत कलाकारहरु शारदादेवी सिलवाल, रमेश केसी, मनोज जोशी, अञ्जु रञ्जीतकार, सीता कार्की, केशवराज राई, माया थापा, सवनम सिलवाल, श्रीहरी फुँयाल र रेशम बहादुर पुन रहेका छन् ।

नाटकको व्यवस्थापन गर्नको निम्ती वरिष्ठ नाटक प्रवन्धक प्रभाकरदेव शर्मा र रमेश के.सी. पौष ७ गते नै हङकङ तर्फ प्रस्थान गर्नु हुनेछ भने बाँकी टोलीका कलाकारहरु संस्थानका अध्यक्ष उद्योग राईको नेतृत्वमा पौष ९ गते प्रस्थान गर्नेछन् । हङकङमा मुनामदन प्रस्तुत गर्नुका साथै संस्थानका कलाकारहरुले पौष ११ गते हङकङ गुरुङ समाजद्धारा आयोजना गरीएको सांस्कृतिक कार्यक्रममा समेत मौलिक लोक संस्कृतीमा आधारीत कार्यक्रम प्रस्तुत गर्नेछन् । कार्यक्रमको आयोजना हङकङ एकिकृत नेपाली समाज लिमिटेडले गर्न लागेको छ भने हवाई उडानमा विशेष सहयोगी नेपाल वायुसेवा निगम रहेको छ ।

सांस्कृतिक संस्थान र हङकङ एकिकृत नेपाली समाज लिमिटेड वीचको यस सहकार्यले आगामी दिनहरुमा नेपाली कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र विकासमा ठोस योगदान पुग्ने विश्वास सांस्कृतिक संस्थानले लिएको छ ।