– सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), ५ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरिएको विरोधमा युवा संघ कपिलवस्तुले मंगलबार दिनभर यातायात ठप्प पार्यो । पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा दिनभर युवाहरु बिरोध प्रदर्शनमा उत्रिए ।
जिल्लाको चन्द्रौटा, इमिलिया, गोरुसिंगे, बनगाई, पिपरा, तौलिहवा लगायतका मुख्य चोकमा युवाहरु जम्मा भई शान्तिपूर्ण विरोध प्रदर्शन गरेको युवा संघ कपिलवस्तुका जिल्ला अध्यक्ष गणेश केसीले बताउनुभयो ।
तिवारीको हत्यामा संलग्नको छानविन गरी अपराधीलाई कानुनको दायरामा ल्याउनुपर्ने माग गर्दै विरोधमा उत्रिएको युवासंघका जिल्ला अध्यक्ष केसीले बताउनुभयो । कायरतापूर्ण तरिकाले तिवारीको हत्या गरिएको भन्दै युवा संघ कपिलवस्तुले हत्याप्रति खेद प्रकट गरेको छ । शान्तिपूर्वक वाँच्न पाउने नागरिकको अधिकारको हनन् भएको भन्दै प्रहरी प्रशासनले घटनामा संलग्नहरुको पहिचान गरी कडाभन्दा कडा कारवाही नगरे अनिश्चित कालिन आमहड्तालमा उत्रने युवा संघले जनाएको छ ।
जिल्लाको चन्द्रौटामा अध्यक्ष गणेश के.सी., गोरुसिंगेमा नगर अध्यक्ष सन्तोष श्रेष्ठ, बनगाईमा जिल्ला उपाध्यक्ष जयलाल गिरी, गजेहडामा नगर अध्यक्ष रनेन्द्र सेन र पिपरामा नगर सचिव कमल क्षेत्रीको नेतृत्वमा विरोध प्रर्दशन गरिएको संघले बताएको छ । हत्याको विरोधमा बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म जिल्लाका सबै यातायातका सवारी साधन बन्द गरिएको थियो । साँझ ४ बजेपछि कपिलवस्तु जिल्लाको बन्द फिर्ता भएसँगै यातायातका साधनहरु चल्न थालेपछि जनजीवन सामान्य बनेको थियो ।













प्रतिक्रिया