२ कार्तिक २०८३, सोमबार

छ स्रष्टालाई विकल पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली साहित्यका मूर्धन्य प्रतिभा तथा वरिष्ठ आख्यानकार रमेश विकलको नवौं स्मृति दिवसका अवसरमा ६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले साहित्य सदन रामहिटीमा गरेको कार्यक्रममा ती स्रष्टाहरुलाई समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, सांसदद्धय अम्बिका बस्नेत, रामेश्वर फुयाँल लगायतले संयुक्त रुपमा ताम्रपत्र, दोसल्लासहित सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको हो ।

सो अवसरमा प्राध्यापक डाक्टर केशवप्रसाद उपाध्यायलाई रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरियो । पुरस्कारको राशि २५ हजार रुपैया रहेको छ । नेपाली भाषा तथा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याएकोमा उपाध्यायलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै शार्दुल भट्टराईलाई रमेश विकल सिर्जना पुरस्कार, प्रमोद प्रधानलाई रमेश विकल बाल साहित्य पुरस्कार र दुर्गाप्रसाद खतिवडालाई रमेश विकल संगित पुरस्कार प्रदान गरियो । यी सबै पुरस्कारको राशि जनही ५ हजार रुपैया रहेको छ ।

१० हजार रुपैया राशिको रमेश विकल सुशीला समाज सेवा पुरस्कार भने समता शिक्षा निकेतनलाई प्रदान गरियो ।

त्यस्तै कमलरी जीवन बिताउँदै सभासद् र लेखिका बन्न सफल प्रेरणादायी व्यक्तित्व शान्ता चौधरीलाई रमेश विकल सुशीला नारीसेवा पुरस्कार प्रदान गरियो । सो पुरस्कारको राशि नगद ५ हजार रुपैया रहेको छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्व प्राध्यापक डाक्टर केशवप्रसाद उपाध्याय, शान्ता चौधरी, प्रमुख अतिथि समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, प्राध्यापक जगत उपाध्याय, साहित्य सदन नेपालका अध्यक्ष अमीर थापा, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, उपाध्यक्षद्धय हेमनाथ पौडेल, के के कर्माचार्य, महासचिव विजय चालिसे लगायतका वक्ताहरुले नेपाली साहित्यको क्षेत्रमा विकलको योगदानको चर्चा गर्नु भएको थियो ।

विकलको बहुआयामीक व्यक्तित्व सबैका लागि प्रेरणादायी भएको उहाँहरुको भनाइ थियो ।