४ मंसिर २०८३, शुक्रबार

रुपन्देहीमा लगातार गोलीकाण्डः सिडियो र एसपीमाथि उब्जियो प्रश्न

38.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ५ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार दिउँसो आफ्नै घर नजिकैको बजार खैरनी बजारमा अज्ञात समुहले गोली हानि हत्या गरेपछि सोमबार साँझदेखि रुपन्देहीमा तनाब सिर्जना भएको छ ।

सोही घटनालाई लिएर युवा संघ नेपालले लुम्बिनी अन्चल बन्दको आह्वान गरेको छ बन्दका कारण लुम्बनी अन्चलका रुपन्देही, पाल्पा,गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु जिल्ला विहानै देखि ठप्प छन् । यी जिल्लामा कुनै पनि उद्योग धन्दा, कलकारखाना तथा सवारी साधन एवं शैक्षिक संस्थान सन्चालनमा छैनन् ।

अध्यक्ष तिवारीको हत्या राजनीतिक कारणले भएको भन्दै युवा संघ रुपन्देहीले प्रहरी प्रशासननप्रति आक्रोश व्यक्त गरेको छ । प्रदर्शनकारीले घटनास्थल खैरेनी, देवदह, बुटवल, भैरहवा, मणिग्राममा हजारौं संख्यामा जम्मा भई सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् ।

युवा संघले अध्यक्ष तिवारीको हत्याको मुख्य कारण ५ नम्बर प्रदेश आन्दोलन भएको जिकिर गरेको छ । रुपन्देहीमा तिवारी हत्याको विरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका युवा संघ केन्द्रीय उपाध्यक्ष राजु गुरुङले भनेका छन् – ‘हाम्रो रुपन्देही अध्यक्ष तिवारीको हत्याको मुख्य कारण राजनीति नै हो । उहाँ रुपन्देहीका युवाबीच प्रिय पात्र हुनुहुन्थ्यो । उहाँको राजनीतिक उचाई र इमान्दारीताबाट डराएर आततायी समूहले जुन हत्या गरे, त्यसको मूल्य अत्यन्तै महंगो हुनेछ ।’ तिवारीको हत्याको जिम्मा लिँदै केही व्यक्तिले फोन मार्फत जिम्मा लिएकोप्रति पनि युवा संघले आपत्ति जनाएको छ । उपाध्यक्ष गुरुङले सो सम्बन्धमा प्रतिक्रिया दिदै भने ‘दुर्गाजी कहिल्यै ठेक्कापट्टा गरेको थाहा पाइएन । अहिले केही व्यक्तिले हत्याको जिम्मा लिएको रे भन्ने सुनेको छु । यो हत्यालाई मत्थर पार्नको लागि सुनियोजित ढंगले गरिएको भ्रमको पोका मात्रै हो । यो हत्या पूरापूर राजनीतिक हो ।’

हत्यारालाई पक्राउ गरेर सार्वजनिक नगरेसम्म आन्दोलनलाई चर्काउने युवा संघ सचिवालय सदस्य देवराज पोखरेलले जानकारी दिए । जिल्ला अध्यक्ष तिवारीको हत्यारालाई कडा कारबाही नभएसम्म आन्दोलनलाई शसक्त पार्ने गरी तयारी थालिएको युवा संघ लुम्बिनी अञ्चल उपाध्यक्ष कुलेन्द्र पुनले बताए । पुनले गृह प्रशासनको नालायकीपनको कारण यस्तो घटना घटेको जनाए । उनले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा भई नयाँ आएसँगै जिल्लामा सुरक्षामा चुनौति थपिएको पनि जिकिर गरे ।

युवा संघका नेता कार्यकर्ताले चोक चोकमा सुरक्षाको प्रत्याभुति गर्न नसक्ने सिडिओ र एसपीको तत्काल सरुवा गर्न सरकारसँग माग पनि गरेका छन् । युवा संघ जिल्ला सदस्य चक्रबहादुर थापाले भने ‘जिल्लाका सिडिओ र एसपीले जब जनताको सुरक्षाको प्रत्याभुत गर्न सक्दैनन भने यिनीहको यहाँ के काम ?’ भन्दै सरकारसँग प्रश्न समेत गरेका छन् ।

तिवारी ५ नम्बर प्रदेश टुक्राउन पाइदैन भन्दै भएको आन्दोलनको अग्रहणी मोर्चामा रहेर अगाडी बढेका व्यक्ति थिए । तिवारीको शब अहिले लुम्बिनी अन्चल अस्पताल बुटवलमा राखिएको छ ।

रुपन्देहीमा करिब एक महिना अघि प्रमुख जिल्ला अधिकारीको रुपमा विनोद प्रकाश सिंह र प्रहरी प्रमुखको रुपमा रविन्द्र धानुक सरुवा भई आएका छन् । संयोग वा सुरक्षा कमजोरी उनीहरुको आगमनसंगै भैरहवामा उद्योगी कुलप्रसाद न्यौपानेमाथी गोली प्रहार भयो । सो गोली प्रहार गर्ने व्यक्ति अझैसम्म पत्ता लाग्न सकेको छैन भने सोमबार युवा संघ अध्यक्षमाथि गोली हानी हत्या गरियो । यी घटनाले रुपन्देहीमा जनताहरु असुरक्षित भएको महसुस गर्न थालेका छन् ।