काठमाडौं, ४ पुस । सरकारले विपन्न वर्गका जनतालाई लक्षित गरी सञ्चालन गर्ने कार्यक्रमहरु सहकारी मार्फत सबै भन्दा प्रभावकारी हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को २५ औं साधारणसभाबाट नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको स्वागतमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले आइतवार आयोजना गरेको वधाई तथा शुभकामना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
सरकारले गरिवी निवारणका नाममो लघुवित्त अन्तरगत सञ्चालन गरेको लगानीले विपन्न वर्गका जनतालाई सहयोग पुर्याउन नसकेको आरोप लगाउदै सहभागीहरुले गरिवी निवारणका सबै कार्यक्रम सहकारी बैंक मार्फत अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै एशियाली ऋण महासंघका प्रथम उपाध्यक्ष ऋषिराज घिमिरेले लघु वित्तका नाममा विपन्न वर्गका जनताले चर्को ब्याज तिर्नु पर्ने अवस्थाको अन्त्यका लागि सहकारी क्षेत्रलाई परिचालन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
उहाँले गरिवी निवारणका नाममा राज्यले वितरण गर्ने सम्पूर्ण रकम सहकारी बैंकमार्फत परिचालन गर्न माग गर्नु भएको थियो । उहाँले सहकारी बैंक र नेफ्स्कुन लगायत अभियानका तर्फबाट गरिबी निवारणको रकम सहकारीलाई प्रदान गर्नका लागि राज्यलाई ध्यानाकर्षण गराउनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष डि.बी. बस्नेतले गरिवी निवारणका लागि राज्य साच्चिकै जिम्मेवार हो भने सहकारी बैंकलाई गरिवी निवारणको रकम दिएर सहकारी मार्फत परिचालन गर्ने हिम्मत गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले देशभर सञ्चालन भएको, ९ हजारभन्दा बढी सदस्य भएको, ३७ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको सहकारी बैंकले गरिवी निवारणको अभियानमा थप काम गर्न सक्षम रहेको दावी गर्नु भयो । उहाँले लक्षित वर्गसम्म राज्यको स्रोत परिचालनका लागि बैंक सक्षम रहेको जानकारी गराउनुभयो ।
बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले बैंकको अवस्था र आगामी रणनीतिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन बैंकका सञ्चालक एवम् सूचना तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले गर्नु भएको थियो ।
नेफ्स्कुनको २५ औं साधारणसभाबाट डि.बी. बस्नेतको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति र दामोदर अधिकारीको संयोजकत्वमा ३ सदस्यी सञ्चालक समिति निर्वाचित भएको छ ।
















प्रतिक्रिया