– अमरराज पुन
रुकुम, ३ पुस । रुकुममा आगामि फागुण १२ देखि २१ गते सम्म मध्यपश्चिमाञ्चल रुकुम महोत्सव २०७३ को आयोजना हुने भएको छ ।
“कृषि, जडिबुटी, पर्यटन, सुचना प्रविधि, उद्योग र व्यापार–समृद्ध तथा स्वाधिन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार” भन्ने मुख्य नाराका साथ उक्त महोत्सवको आयोजना गर्न लागिएको हो । विशेष गरी रुकुम उद्योग वाणिज्य संघको सभाहल निर्माण तथा एम्बुलेन्स खरिद सहयोगार्थका लागि पनि सो महोत्सवको आयोजना गर्न लागिएको एक पत्रकार सम्मेलन मार्फत आज जानकारी गराईएको छ ।
दश दिन सम्म लाग्ने महोत्सवमा मध्यपश्चिमको शैक्षिक, आर्थिक सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिईएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको मध्यपश्चिमको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
आन्तरिक उत्पादनहरुको निर्यातमा वृद्धि, आन्तरिक वजारको विस्तार एवम् सुदृढिकरण गर्न र समग्रमा आम मध्यपश्चिमका जनताको आर्थिक स्तर उकास्न सहयोग गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको आयोजकको भनाई छ । मध्यपश्चिमाञ्चल रुकुम महोत्सव २०७३ रुकुम र रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा हुन गईरहेको महोत्सवमा हेलिक्प्टरद्धारा रुकुमको पर्यटकिय ठाउँहरु अवलोकल गर्न पाईने र जिल्लाको ऐतिहासिक कला, संंस्कृति र भाषा सहितको झाँकी प्रदर्शन गरिने अपेक्षा गरिएको छ ।
यस्तै दश दिन सम्म संचालन हुने महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकल गर्ने र १० करोड बराबरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सवमा १ सय ५० भन्दा बढि स्टलको संख्या रहने र विभिन्न खालका प्रतियोगिताहरुको समेत प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ ।
रुकुमको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि सानोभेरी नदी मार्फत सुर्खेत सम्मको र्याप्टिङ, प्याराग्लाईडिङ्ग, हस्तकला प्रदर्शन तथा मध्यपश्चिम क्षेत्रको फोटो प्रदर्शन लगायत अन्य थुप्रै आकर्षणहरु महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती, रुकुम आईडलद्धारा नयाँ प्रतिभाको खोजी र खुला एकल नृत्य प्रतियोगिता पनि गराईने भएको छ ।
यसअघि जिल्लामा धेरैपटक विभिन्न खाले महोत्सवको आयोजना गरिए पनि यसपटक आयोजना गर्न लागिएको महोत्सव औद्योगिक र व्यापारिक महोत्सव भएकाले सबै पक्षको साथ र सहयोगको अपेक्षा रहनेमा आयोजक विश्वस्त रहेको छ ।
निकै भव्यताका साथ सभ्य रुपमा आगामी फागुण महिनामा रुकुममा हुन गैरहेको महोत्सवलाई सफल पार्न महोत्सव आयोजक मुल समितिले विभिन्न क्षेत्रमा काम गर्ने गरी तत्काल उप–समितिहरु समेत गठन गर्ने बताएको छ ।
















प्रतिक्रिया