३ कार्तिक २०८३, मंगलबार

कुलेखानी तेस्रो आयोजना तोकिएको समयमा पुरा गर्न प्रमको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकको विकास आयोजना निर्माण गर्ने क्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पुरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले मकवानपुर जिल्लाको भैसे गाविस–६ कमलमत्तामा निर्माणाधिन कुलेखानी तेस्रो आयोजनाको विद्युत् गृह जलाशय मार्ग र टर्वाइनको आज निरीक्षण गर्नुहुँदै आयोजनाका प्रमुखले छिटोछरितो ढङ्गबाट सरकारले उपलब्ध गराएको स्रोत साधनलाई परिचालन गरी कार्य सम्पन्न गर्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले जनताले छिटै आयोजनाको उपलब्धि चाहेकाले विकास आयोजनाका पदाधिकारीले ढिलासुस्ती र अवरोध हुने समस्यालाई तत्कालै निराकरण गरी अघि बढ्न आग्रह गर्नुहुँदै सरकारले ती आयोजना निर्माणका लागि आवश्यक बजेट र प्राविधिक उपलब्ध गराउन सरकार कटिवद्ध रहेको बताउनुभयो ।

उहाँले कुलेखानी तेस्रो आयोजनाको निर्माणकार्य गर्ने चिनियाँ ठेकेदारले ढिलासुस्ती गरेकाले ती आयोजना छिटै सम्पन्न गराउन नेपाल सरकारले चिनियाँ सरकारसँग पहल गर्ने बताउनुभयो ।

कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवास मिश्रले सो आयोजनाको निर्माणकार्य सन् २०१२ डिसेम्बर १५ बाट सुरु गरिएको भए तापनि चिनियाँ ठेकेदारहरूले काम गर्न ढिलासुस्ती गरेकाले आगामी २०७४ साल साउन मसान्तभित्र सो आयोजनाको निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

नेपाल सरकारको रु चार अर्ब ६३ करोड लगानीमा सो निर्माणकार्य सम्पन्न हुने सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाबाट प्रतिघन्टा ४० मेघावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख मिश्रले राससलाई जानकारी दिनुभयो । सो आयोजनाको भौतिक निर्माण ६० प्रतिशत पुरा भै सकेको र ४० प्रतिशत प्राविधिक पक्ष पुरा हुन बाँकी रहेको छ । रासस